इरानमाथि अमेरिकाको पुनः हवाई हमला, होर्मुज जलडमरूमध्यमा तनाव बढ्यो

तेहरान, इरान ।  होर्मुज जलडमरूमध्यमा पानीजहाजलाई लक्षित गरी आक्रमण भएपछि अमेरिकाले इरानमाथि पुनः हवाई हमला गरेको छ । दुई देशबीच व्यापक युद्ध हुन नदिन मध्यस्थकर्ताहरूले कूटनीतिक प्रयास जारी राखेका बेला अमेरिकाले इरानको दक्षिणी क्षेत्रमा आक्रमण गरेको हो ।

शुक्रबार राति इरानको क्‍वेश्म टापुमा दुई वटा प्रक्षेप्यास्त्र प्रहार भएका छन् । पछिल्ला केही सातायता उक्त क्षेत्रमा इरानी हवाई प्रतिरक्षा प्रणाली र क्षेप्यास्त्र प्रक्षेपण केन्द्रलाई लक्षित गरी भएका शृंखलाबद्ध हवाई हमलामध्ये यो पछिल्लो घटना हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त आक्रमणलाई ‘सामान्य प्रकृतिका हमला’ भनेका छन् ।

शनिबार बिहान इरानी सेनाले अमेरिकी निर्मित एमक्यू–९ ड्रोनलाई नयाँ प्रविधिको प्रणाली प्रयोग गरी खसालेको दाबी गरेको छ । यसैबीच, इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)ले शुक्रबार आफ्नो हवाई प्रतिरक्षा प्रणालीले एमक्यू–१ ड्रोनलाई समेत रोकेको जनाएको छ । आईआरजीसीका अनुसार युद्ध सुरु भएयता यस प्रकारका कम्तीमा १६ वटा विमान नष्ट भइसकेका छन् ।

होर्मुजमा पानीजहाजमाथि लगातार आक्रमण

युनाइटेड किङडम मेरिटाइम ट्रेड अपरेसन्स (यूकेएमटीओ)का अनुसार नोभेम्बर ६ मा समाप्त भएको एक सातामा होर्मुज जलडमरूमध्य र आसपासका क्षेत्रमा कम्तीमा ११ वटा पानीजहाजमाथि आक्रमण भएको छ । तीमध्ये तीन वटा डुबेको यूकेएमटीओले जनाएको छ ।

पश्चिमी सैन्य गुप्तचर निकायका अनुसार जुलाईको सुरुदेखि द्वन्द्व पुनः सुरु भएयता जलडमरूमध्यमा ८८ वटा प्रक्षेप्यास्त्र तथा अन्य हतियारबाट आक्रमण भएको अभिलेख छ । यद्यपि, अधिकांश आक्रमण सार्वजनिक जानकारीमा नआएको बताइएको छ ।

यूकेएमटीओको साप्ताहिक विवरणअनुसार होर्मुज जलडमरूमध्य हुँदै बाहिरिने १७० र भित्रिने १५५ वटा पानीजहाजको आवागमन भएको छ । यो द्वन्द्व सुरु हुनुअघिको अवस्थाको तुलनामा करिब ६५ प्रतिशत कम हो ।

ट्रान्सपोन्डर खुला राखेर यात्रा गर्ने अधिकांश पानीजहाज इरानी तर्फको उत्तरी मार्ग प्रयोग गरिरहेका छन् । तर केही पानीजहाजले ट्र्याकिङ प्रणाली बन्द गरेर ओमानतर्फको दक्षिणी मार्ग हुँदै जलमार्गबाट तेल बाहिर निकाल्ने प्रयास गरिरहेका छन् ।

इरानी सशस्त्र बलले क्षेप्यास्त्र र ड्रोनका साथै ‘अनधिकृत’ मार्ग प्रयोग गर्ने तेल ट्याङ्कर तथा व्यावसायिक पानीजहाज पनि समुद्री बारुदको जोखिममा रहेको चेतावनी दिएको छ ।

शनिबार इरानी नौसैनिक बलले ट्रान्सपोन्डर बन्द गरिएको एउटा तेल ट्याङ्करले होर्मुज जलडमरूमध्यको पूर्वी क्षेत्रमा बारुदमा ठोक्किएपछि आगलागी भएको जनाएको छ । तर अमेरिकाले भने जलडमरूमध्यबाट समुद्री बारुद हटाइसकेको दाबी गरेको छ ।

इरानले क्षेप्यास्त्रको दूरीमा लगाएको सीमा हटायो

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले वर्षौंदेखि आफ्ना ब्यालिस्टिक क्षेप्यास्त्रको मारक दूरी करिब २ हजार किलोमिटरमा सीमित राख्दै आएको थियो । युरोपेली मुलुकहरूलाई लक्षित नगर्ने सन्देश दिन यस्तो सीमा कायम गरिएको बताइन्थ्यो ।

तर अमेरिकी राष्ट्रपति ट्रम्पले इरानको नागरिक पूर्वाधारमाथि व्यापक हवाई हमला पुनः सुरु गर्ने चेतावनी दिएपछि इरानी सैन्य अधिकारीहरूले अब कुनै पनि सीमा बाँकी नरहेको बताएका छन् ।

आईआरजीसीका प्रवक्ता होसेन मोहेब्बीले शनिबार पत्रकारसँग कुरा गर्दै क्षेप्यास्त्रको दूरीसम्बन्धी उक्त सीमा हटाइएको बताए ।

उनका अनुसार इजरायल र अमेरिकाबाट भविष्यमा आउने कुनै पनि धम्कीको जवाफमा सर्वोच्च नेता मोज्तबा खामेनेईले ‘असीमित सैन्य प्रतिकार’को आदेश दिएका छन् ।

मोहेब्बीले आईआरजीसीको एरोस्पेस डिभिजनले ‘आश्चर्यजनक रक्षा उपलब्धि’ तयार पारेको र नयाँ चरणको ठूलो आक्रमण सुरु भए त्यसलाई प्रयोगमा ल्याइने बताए ।

उनले आईआरजीसीले छिट्टै अर्को भूमिगत ‘क्षेप्यास्त्र सहर’ सार्वजनिक गर्ने तयारी गरेको जानकारी दिँदै केही सैन्य प्रणाली सर्वसाधारणले प्रत्यक्ष अवलोकन गर्न सक्ने गरी सार्वजनिक स्थानमा राखिने पनि बताए ।

इरानले आफ्नो आणविक नीति परिवर्तन गरेर आणविक हतियार निर्माण गर्ने निर्णय गरे आवश्यक तयारी गरिने संकेतसमेत मोहेब्बीले दिएका छन् ।

इरानी सरकारी टेलिभिजनको युद्धकेन्द्रित कार्यक्रम ‘बे वक्‍ते इरान’मा सहभागी विश्लेषकहरूले इरानी सेना उच्च सतर्क अवस्थामा रहेको र विशेषगरी इजरायलको गतिविधिमाथि निगरानी बढाइएको बताएका छन् ।

एक विश्लेषकले इजरायलका रणनीतिक संवेदनशील क्षेत्रबारे इरानसँग पर्याप्त सैन्य सूचना रहेको दाबी गर्दै इरानको पानी, विद्युत् र प्राकृतिक ग्यास आपूर्ति अवरुद्ध गरिए इजरायलले पनि समान अवस्थाको सामना गर्नुपर्ने चेतावनी दिएका छन् ।

युद्ध र वार्ताबीच झुलिरहेको अवस्था

यसैबीच, क्षेत्रीय युद्ध फैलिन नदिन पछिल्ला केही सातादेखि विभिन्न मुलुकका मध्यस्थकर्ताले कूटनीतिक प्रयास तीव्र बनाएका छन् । यद्यपि अहिलेसम्म त्यसबाट ठोस उपलब्धि हासिल हुन सकेको छैन ।

इरानी विदेशमन्त्री अब्बास अराघ्चीले पछिल्लो ४८ घण्टामा ओमान, कतार, साउदी अरेबिया र पाकिस्तानसहित १२ देशका विदेशमन्त्रीसँग वार्ता गरेको बताएका छन् ।

उनले ती वार्ताका क्रममा तेहरानका ‘मूलभूत अडान’ प्रस्तुत गरेको र होर्मुज जलडमरूमध्य पुनः खोल्न इरानले राखेका सात मागबारे जानकारी गराएको बताए । उनले क्षेत्रीय सुरक्षाका लागि बाह्य शक्तिको हस्तक्षेपबिनाको नयाँ सुरक्षा संरचना आवश्यक रहेकोमा जोड दिए ।

इरानका सुरक्षा प्रमुख मोहसेन रेजाइले पनि बिहीबार मस्को भ्रमणका क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग यिनै विषयमा छलफल गरेको बताइएको छ । उक्त भ्रमण खामेनेईको सन्देश पुर्‍याउने उद्देश्यले समेत भएको जनाइएको छ ।

राजनीतिक विश्लेषक मुस्तफा नजाफीले अमेरिका–इरान सम्बन्ध अहिले ‘युद्ध र वार्ताबीच निरन्तर झुलिरहेको पिङ’ जस्तो बनेको बताएका छन् । उनका अनुसार पछिल्लो समय उक्त अवस्था द्वन्द्वतर्फ बढी झुकेको छ ।

उनले सामाजिक सञ्जाल एक्समा युद्धको अन्त्य कल्पना गरिएभन्दा धेरै जटिल र लामो हुन सक्ने बताएका छन् । अमेरिकी मध्यावधि निर्वाचनमा राष्ट्रपति ट्रम्प र रिपब्लिकन पार्टीलाई भएको राजनीतिक धक्काले पनि परिस्थिति थप जटिल बनाउन सक्ने उनको भनाइ छ ।

क्विन्सी इन्स्टिच्युट फर रेस्पोन्सिबल स्टेटक्राफ्टका कार्यकारी उपाध्यक्ष त्रिता पार्सीले पनि निर्वाचनपछि छोटो अवधिमा युद्धको जोखिम बढाउने तीन प्रमुख कारण रहेको बताएका छन् ।

उनका अनुसार इरानमाथिको युद्धका कारण बढेको इन्धनको मूल्यबाट सिर्जित राजनीतिक दबाबको ठूलो हिस्सा ट्रम्पले यसअघि नै बेहोर्नुपरेको छ । अब तत्कालै त्यस्तो अर्को राजनीतिक दबाब आउने अवस्था नरहेकाले सम्झौताको आवश्यकता महसुस गर्ने दबाब कम हुन सक्ने उनको भनाइ छ ।

त्यसैगरी, डेमोक्र्याटहरूले जनवरीको सुरुदेखि अमेरिकी कंग्रेसमा नियन्त्रण लिएपछि युद्ध विस्तारका पक्षधरहरूलाई थप दबाब पर्न सक्ने उनको विश्लेषण छ । ट्रम्पले कट्टर दक्षिणपन्थी तथा इजरायल समर्थक स्टेफन मिलरलाई ह्वाइट हाउसको चिफ अफ स्टाफ नियुक्त गर्ने निर्णय गर्नुले पनि युद्ध तत्काल अन्त्य गर्ने पक्षमा उनी नरहेको संकेत गरेको पार्सीले बताएका छन् ।

उनका अनुसार इरानसँगको द्वन्द्वका कारण ट्रम्पमा देखिएको व्यक्तिगत आक्रोश र बदला लिने मनोवृत्तिले पनि आगामी दिनमा युद्धको जोखिम बढाउन सक्ने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *