नयाँ सरकार गठनपछिको पहिलो कारोबारमा नेप्सेमा ७१ अङ्कको गिरावट, १५ अर्बको सेयर किनबेच
काठमाडौँ, १५ चैत्र । नयाँ सरकार गठनपछिको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट आएको छ । पछिल्लो समय निरन्तर उकालो लागिरहेको सेयर बजारमा लगानीकर्ताहरूले नाफा सुरक्षित गर्न खोज्दा (प्रोफिट बुकिङ) नेप्सेमा ‘करेक्सन’ देखिएको हो ।
आइतबार नेप्से परिसूचक ७१.०५ अङ्कले घटेर २८७९.११ विन्दुमा ओर्लिएको छ । त्यस्तै, ठूला कम्पनीहरूको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १२.९६ अङ्क, फ्लोट इन्डेक्स ५.३२ अङ्क र सेन्सेटिभ फ्लोट इन्डेक्स ४.६० अङ्कले घटेको छ ।
बजार परिसूचकमा उच्च गिरावट आए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ । गत बिहीबार १३ अर्ब १६ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा आइतबार १५ अर्ब ३ करोड ३३ लाख १० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन ३३३ वटा कम्पनीका ३ करोड ५२ लाख ४८ हजार कित्ता सेयर १ लाख ९६ हजार १५८ पटक किनबेच भएका छन् ।
समग्र बजार राताम्मे हुँदा पनि आधा दर्जन कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । रिलायन्स स्पिनिङ मिल्स, सुपर खुदी हाइड्रोपावर, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, भुजुङ्ग हाइड्रोपावर र होटल फरेष्ट इनको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । त्यस्तै, सीवाईसी लघुवित्तको सेयर मूल्य ७ प्रतिशतभन्दा बढीले बढेको छ ।
अर्कोतर्फ, कारोबारमा आएको युनिक नेपाल लघुवित्तको सेयर मूल्य सर्वाधिक ६.१७ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आइतबार रिडी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । यस कम्पनीको ७१ करोड ११ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यसैगरी, ङादी ग्रुप पावरको ५२ करोड र सोलु हाइड्रोपावरको साढे ४८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
यस दिन कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक ओरालो लागेका छन् । जसमध्ये वित्त (फाइनान्स) उपसमूहको परिसूचक सर्वाधिक ३.३८ प्रतिशतले घटेको छ । यसैगरी, व्यापार उपसमूह ३ प्रतिशतले घट्दा बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत्, लगानी, जीवन बिमा, लघुवित्त, निर्जीवन बिमा र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले घटेको नेप्सेले जनाएको छ ।