तेलको मूल्य वृद्धिको असर: अष्ट्रेलियाली शेयर बजारमा भारी गिरावट

एजेन्सी, १६ चैत्र । मध्यपूर्वमा चर्किएको द्वन्द्वका कारण विश्वव्यापी रूपमा तेलको मूल्यमा भएको निरन्तर वृद्धिको प्रत्यक्ष असर अष्ट्रेलियाको शेयर बजारमा परेको छ । साताको पहिलो दिन सोमबार प्रारम्भिक कारोबारमै अष्ट्रेलियाली शेयर बजार १.४ प्रतिशतले ओरालो लागेको छ ।

सोमबार कारोबार सुरु भएको पहिलो घण्टामै अष्ट्रेलियाको प्रमुख शेयर सूचकाङ्क ‘एस एन्ड पी/एएसएक्स २००’ घटेर ८ हजार ३ सय ९७ अङ्कमा झरेको छ । गत शुक्रबार बजार बन्द हुँदा यो सूचकाङ्क ८ हजार ५ सय १६ बिन्दुमा रहेको थियो ।

बजार विश्लेषकहरूका अनुसार, मध्यपूर्वको भू–राजनीतिक तनावले गर्दा विश्व बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १ सय २० अमेरिकी डलरको नजिक पुगेको छ । इन्धनको मूल्यमा आएको यस उछालले महँगी बढ्ने र अर्थतन्त्रमा दबाब पर्ने आशङ्कामा लगानीकर्ताहरू निरुत्साहित हुँदा शेयर बजार प्रभावित भएको हो ।

सोमबार बिहानको तथ्याङ्क हेर्दा, पछिल्लो एक महिनाको अवधिमा मात्रै अष्ट्रेलियाको यो प्रमुख शेयर सूचकाङ्कमा करिब ८.७ प्रतिशतको उच्च गिरावट आइसकेको छ ।

सोमबारको प्रारम्भिक कारोबारमा समग्र बजार प्रभावित भए पनि विशेषगरी वित्तीय (फाइनान्स) र स्वास्थ्य सेवा (हेल्थकेयर) क्षेत्रका कम्पनीहरूको शेयर मूल्यमा सबैभन्दा बढी गिरावट देखिएको छ ।