सेयर बजारमा लगातार दोस्रो दिन पनि गिरावटः नेप्से ४७.७१ अंकले घट्दा १२ अर्ब ९६ करोडको कारोबार

काठमाडौं, १६ चैत्र । साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजार मापक नेप्से परिसूचक घटेको छ। आइतबारदेखि सुरु भएको गिरावटले सोमबार पनि निरन्तरता पाउँदा नेप्से परिसूचक ४७.७१ अंकले घटेर २ हजार ८३१.३९ विन्दुमा झरेको छ।

परिसूचकसँगै यस दिन कारोबार रकममा पनि संकुचन आएको छ। आइतबार १५ अर्ब ३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको बजारमा सोमबार कारोबार रकम घटेर १२ अर्ब ९६ करोड ६६ लाख ५९ हजार रुपैयाँमा सीमित भएको छ। सोमबार ३४१ वटा कम्पनीका ३ करोड १६ लाख ६ हजार कित्ता सेयर १ लाख ५९ हजार ३२८ पटक खरिदबिक्री भएका छन्।

त्यस्तै, ठूला र बलिया कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ७.९० अंकले घटेको छ भने फ्लोट इन्डेक्स ३.२० अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.५५ अंकले ओरालो लागेका छन्।

सोमबार कारोबारमा आएका सबै १३ वटै उपसमूहको परिसूचक घटेर बजार पूर्ण रूपमा राताम्मे भएको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.५६ प्रतिशतले घटेको छ। त्यस्तै, वित्त (फाइनान्स) र ‘अन्य’ उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले ओरालो लागेका छन् भने बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, निर्जीवन बीमा र लघुवित्त उपसमूह १ प्रतिशतभन्दा बढीले घटेका छन्।

समग्र बजार घटे पनि सोमबार ६ वटा कम्पनीका लगानीकर्ताले भने राम्रो कमाएका छन्। यस दिन रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, रिज लाइन इनर्जी, होटल फरेस्ट इन, सुपर खुदी हाइड्रोपावर र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको सेयर मूल्य बढेर सकारात्मक सर्किट लेभल (१० प्रतिशतको हाराहारी) मा कारोबार भएको छ। त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि करिब १० प्रतिशतले नै वृद्धि भएको छ।

यता, सोलु हाइड्रोपावरका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन्। यस कम्पनीको सेयर मूल्य सर्वाधिक ७.७९ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा सोमबार रिडी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको ६८ करोड ४१ लाख ३६ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। त्यस्तै, ङादी ग्रुप पावर र शिवम् सिमेन्ट्सको करिब ४४–४४ करोड रुपैयाँको कारोबार हुँदा अपि पावर कम्पनीको साढे ३८ करोड रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको छ।