अन्तरपालिका भलिबलको उपाधि बौदीकालीलाई
काठमाडौँ, चैत १८ । तनहुँको शुक्लागण्डकी नगरपालिका-५ बेलचौतारामा आयोजित अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि नवलपुरको बौदीकाली गाउँपालिकाले जितेको छ । पाँचौँ शुक्लागण्डकी महोत्सवको अवसरमा आयोजित प्रतियोगिताको फाइनल खेलमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकालाई ३-२ को प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै बौदीकालीले उपाधि चुमेको हो ।
यसअघि सेमिफाइनलमा अर्जुनचौपारीले स्याङ्जाकै पुतलीबजार नगरपालिकालाई र बौदीकालीले आयोजक शुक्लागण्डकी नगरपालिकालाई पराजित गर्दै फाइनलको यात्रा तय गरेका थिए ।
त्यसैगरी, प्रतियोगितामा स्याङ्जाको पुतलीबजार नगरपालिकाले तेस्रो स्थान हासिल गरेको छ । तृतीय स्थानका लागि भएको खेलमा पुतलीबजारले शुक्लागण्डकी नगरपालिकालाई पराजित गरेको हो ।
प्रतियोगितामा प्रथम हुने टोलीले दुई लाख रुपियाँ, द्वितीयले एक लाख ५० हजार रुपियाँ, तृतीयले ५० हजार रुपियाँ र सान्त्वना स्थान प्राप्त गर्ने चौथो टोलीले २५ हजार रुपियाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।