लालझाडीमा सिकलसेल र आँखा शिविर सम्पन्न : ४१ जनामा ‘ट्रेट’ पहिचान

काठमाडौँ, चैत १८ ।  कञ्चनपुरको लालझाडी गाउँपालिकामा सञ्चालित दुई छुट्टाछुट्टै स्वास्थ्य शिविरमार्फत सयौँ स्थानीयले सेवा लिएका छन् । स्वास्थ्य कार्यालय कञ्चनपुरको आयोजनामा भएको सिकलसेल एनिमिया तथा थालासेमिया स्क्रिनिङ र गाउँपालिकाको समन्वयमा भएको आँखा शिविरबाट सर्वसाधारण लाभान्वित भएका हुन् ।

४१ जनामा सिकलसेलको लक्षण
लालझाडी–१ शङ्करपुरमा आयोजित रगत परीक्षण शिविरमा ५२० जनाको स्वास्थ्य जाँच गरिएको छ । परीक्षण गरिएका ३९४ महिला र १२६ पुरुषमध्ये ४१ जनामा सिकलसेलको ‘ट्रेट’ (वाहक) देखिएको स्वास्थ्य कार्यालयका फोकल पर्सन सिद्धराज भट्टले जानकारी दिनुभयो ।

ट्रेट देखिएका २९ महिला र १२ पुरुषलाई थप निश्चितताका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, धनगढी पठाइएको छ । सिकलसेल एनिमिया र थालासेमिया वंशाणुगत रक्त अल्पता सम्बन्धी कडा रोग हुन् । फोकल पर्सन भट्टका अनुसार यी रोग पूर्ण रूपमा निको नहुने भए तापनि समयमै पहिचान, उचित परामर्श र विवाहपूर्व रगत परीक्षण गरेर यसको जोखिम न्यूनिकरण गर्न सकिन्छ ।

२८ जनामा मोतिबिन्दुको समस्या
यसैगरी, लालझाडी गाउँपालिकाको आयोजना तथा च्यारिटी हेल्थ फाउण्डेशन नेपाल र धनगढी नेत्रालयको प्राविधिक सहयोगमा सञ्चालित निःशुल्क आँखा शिविरबाट २४८ जनाले सेवा लिएका छन् ।

शिविरमा गरिएको परीक्षणका क्रममा २८ जनामा मोतिबिन्दुको समस्या देखिएको छ । उनीहरूलाई निःशुल्क शल्यक्रियाका लागि रिफर गरिएको छ भने ३८ जना सेवाग्राहीलाई आवश्यकता अनुसार रिडिङ ग्लास (चस्मा) वितरण गरिएको छ । ग्रामीण भेगका नागरिकलाई घरदैलोमै विशेषज्ञ स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले यी शिविरहरू सञ्चालन गरिएको आयोजकले जनाएका छन् ।