आज विश्व अटिजम सचेतना दिवस : समाजमा समान सहभागिता र अधिकारमा जोड
काठमाडौं,१९ चैत्र । आज (बिहीबार) विश्वभर ‘विश्व अटिजम सचेतना दिवस’ मनाइँदैछ। अटिजम भएका व्यक्तिहरूको गरिमा, अधिकार र समाजमा समान सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै यो दिवस मनाउन लागिएको हो।
विशेषज्ञहरूका अनुसार अटिजम कुनै रोग नभई मस्तिष्कको विकाससँग सम्बन्धित एक विशेष अवस्था हो। यस्तो अवस्था भएका व्यक्तिहरूको व्यवहार, बोल्ने र सोच्ने शैली सामान्य मानिसको भन्दा केही फरक र पृथक हुने गर्दछ।
अटिजम भएका व्यक्तिहरूको अधिकार र समाजमा उनीहरूको योगदानलाई सम्मान गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००७ देखि हरेक वर्ष यो दिवस मनाउन सुरु गरिएको हो। राष्ट्रसंघले यस वर्ष पनि सदस्य राष्ट्रहरूलाई अटिजम भएका हरेक व्यक्तिको योगदानको कदर गर्दै उनीहरूको अधिकारलाई सम्मान गर्ने सन्देश प्रवाह गर्न अनुरोध गरेको छ।
यसै अवसरमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले एक विशेष सन्देश जारी गरेका छन्। उनले मानवअधिकार र मौलिक स्वतन्त्रताको पूर्ण कार्यान्वयनलाई प्रवर्द्धन गर्दै अटिजम भएका व्यक्तिहरूको समाजमा समान र अर्थपूर्ण सहभागिता सुनिश्चित हुनुपर्ने कुरामा विश्व समुदायको ध्यानाकर्षण गराएका छन्।