संसद्को रोस्टममा युवा निराशाप्रति सरकारको ध्यानाकर्षण गराउन कांग्रेस सांसद यादवद्वारा ‘मौन धारण’

काठमाडौँ, २६ असार । सङ्घीय संसद् प्रतिनिधिसभाको शुक्रबारको बैठकमा एक प्रतीकात्मक विरोधको दृश्य देखिएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले मुलुकमा व्याप्त युवा निराशा र सरकारको अकर्मण्यताविरुद्ध संसद्को रोस्टममै ‘मौन धारण’ गरेर विरोध जनाउनुभएको हो।

प्रतिनिधिसभाको ‘शून्य समय’ मा समसामयिक र जरुरी सार्वजनिक महत्त्वका विषयमा बोल्नका लागि समय उपलब्ध गराइन्छ। आफ्नो पालो आएपछि बोल्नका लागि उभिनुभएका सांसद यादवले निर्धारित एक मिनेटको समयभर एक शब्द पनि नबोली मौन रहनुभयो। उहाँको यो ‘मौनता’ सरकारको कार्यशैलीप्रति शब्दभन्दा बढी प्रभावशाली विरोधको सङ्केत रहेको संसद्मा उपस्थित अन्य सांसदहरूले टिप्पणी गरेका छन्।

संसद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद यादवले देशमा युवाहरूका लागि बन्दै गएको चरम निराशाजनक परिस्थिति, बेरोजगारी र पछिल्लो समय घटेका आत्मदाह जस्ता हृदयविदारक घटनाहरूप्रति राज्य संवेदनशील नभएकोले आफूले मौन रहेर विरोध गरेको स्पष्ट पार्नुभयो।