साताको अन्तिम दिन सेयर बजारमा सामान्य सुधार : नेप्से ५.८२ अंकले बढ्दा पौने ९ अर्बको कारोबार

काठमाडौं, १९ चैत्र । साताको कारोबारको अन्तिम दिन (बिहीबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ। आज नेप्से परिसूचक ५.८२ अंकले बढेर २,७८२.१८ को विन्दुमा पुगेर बन्द भएको छ।

नेप्सेका अनुसार आज बजारमा ३२८ वटा कम्पनीका २ करोड १३ लाख १८ हजार ९२९ कित्ता सेयर १ लाख ३ हजार २२५ पटक खरिदबिक्री भएका छन्। जसबाट बजारमा कुल ८ अर्ब ८१ करोड ९७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

आज कारोबारमा आएका विभिन्न उपसमूहमध्ये व्यापार र उत्पादन तथा प्रशोधन समूहका लगानीकर्ताले राम्रो कमाएका छन्। व्यापार उपसूचक सबैभन्दा धेरै २.५३ प्रतिशतले बढेको छ भने उत्पादन तथा प्रशोधन उपसूचक १.७६ प्रतिशतले उकालो लागेको छ। त्यसैगरी, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत्, लगानी र म्युचुअल फन्ड उपसूचक पनि सकारात्मक रहेका छन्।

उता, बैंकिङ, वित्त, जीवन बिमा, निर्जीवन बिमा, लघुवित्त र अन्य समूहको उपसूचक भने घटेका छन्। आजको कारोबारमा तीनवटा कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। रिलायन्स स्पिनिङ मिल्स, रिजलाइन इनर्जी लिमिटेड र सूर्यकुण्ड हाइड्रोइलेक्ट्रिक लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। उता, सबैभन्दा बढी गुमाउनेमा भने भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी रहेको छ, जसको सेयर मूल्य ३.०६ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज एसवाई प्यानल नेपाल लिमिटेड शीर्ष स्थानमा रह्यो। सो कम्पनीको सर्वाधिक ३५ करोड ७० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। त्यस्तै, सेयर संख्या (भोल्युम) का आधारमा कुमारी बैंक लिमिटेड अगाडि देखिएको छ। आज कुमारी बैंकको सबैभन्दा धेरै १० लाख ७९ हजार ९२१ कित्ता सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ।