अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने नेपाली बुद्धिचाल टोलीको बिदाइ
काठमाडौँ, १९ चैत । दुई भिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपालको प्रतिनिधित्व गर्न जाने नेपाली बुद्धिचाल टोलीलाई आज एक समारोहबीच औपचारिक बिदाइ गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहताले खेलाडी तथा पदाधिकारीहरूलाई सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो ।
चीन प्रस्थान गर्ने टोली
चीनमा आगामी अप्रिल ७ देखि १२ तारिखसम्म आयोजना हुने ‘आठौँ साङ्घाई को–अपरेसन अर्गनाइजेसन इन्टरनेसनल टिम चेस’ प्रतियोगितामा नेपालको तर्फबाट तीन खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । सहभागी खेलाडीहरूमा रुपेश जैसवाल, आशिष फुयाँल र कृतिशरा अधिकारी रहनुभएको छ । टोली व्यवस्थापकको भूमिका ताराबहादुर रानाभाटले निभाउनुहुनेछ ।
काजाकिस्तान प्रस्थान गर्ने टोली
यसैगरी, अप्रिल ६ देखि ११ तारिखसम्म काजाकिस्तानको अल्माटीमा सञ्चालन हुने ‘एसियाली कन्टिनेन्टल स्टेज अफ दी फिडे आइएससिएफ वर्ल्ड स्कुल टिम’ प्रतियोगितामा पाँच जना खेलाडीले नेपालको तर्फबाट चुनौती प्रस्तुत गर्नेछन् । टोलीमा निहाना श्रेष्ठ, सुहानी सिंह, कृष्टि रिजाल, वृजनन्ददास टमटा र आकर्षण कुँवर सहभागी हुनुहुन्छ । उक्त टोलीको व्यवस्थापकमा निराजन प्रजापति र प्रशिक्षकमा रिजेन्द्र राजभण्डारी रहनुभएको छ ।
दुवै प्रतियोगितामा सहभागी हुने नेपाली टोलीहरू आगामी आइतबार आ–आफ्नो गन्तव्यतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।