प्रतिनिधिसभाको सभामुखमा रास्वपाका डीपी अर्याल निर्विरोध निर्वाचित

काठमाडौं, २० चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल प्रतिनिधिसभाको नयाँ सभामुखमा निर्विरोध निर्वाचित भएका छन् ।

संघीय संसद् सचिवालयले सभामुखको मनोनयन दर्ताका लागि आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको समय तोकेको थियो । उक्त निर्धारित अवधिमा अर्यालको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध चयन भएका हुन् ।

अर्यालको प्रस्तावकमा रास्वपा सभापति रवि लामिछाने रहेका छन् भने समर्थकमा अर्थमन्त्री स्वर्णिम वाग्ले, कानुनमन्त्री सोविता गौतम र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल रहेका छन् ।

संसद्‌मा रास्वपा एक्लैको करिब दुई तिहाइ बहुमत रहेका कारण विपक्षी दलहरूले सभामुख पदमा उम्मेदवारी नै दर्ता नगराएको बताइएको छ । एकल उम्मेदवारी परे पनि आगामी आइतबार बस्ने प्रतिनिधिसभाको बैठकले अर्याल सभामुख पदमा निर्वाचित भएको औपचारिक घोषणा गर्नेछ ।

आफ्नो उम्मेदवारी दर्ता गराएपछि प्रतिक्रिया दिँदै अर्यालले नेपालको संविधान, कानुन र नेपाली जनताको हितलाई सर्वोपरि राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।