शेयर बजारमा पहिरो : नेप्से १०५ अंकले घट्दा ७ कम्पनीमा नकारात्मक सर्किट, व्यवसायीमाथिको धरपकडले बजारमा त्रास
काठमाडौं, २२ चैत । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचकमा भारी गिरावट आएको छ । नेप्से परिसूचक १०५.५० अंक (३.७९ प्रतिशत) ले घटेर २६७६ को बिन्दुमा ओर्लिएको छ ।
बजार उच्च अंकले घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ । गत बिहीबार ८ अर्ब ८१ करोड रुपैयाँको कारोबार भएकोमा आइतबार १२ अर्ब ३८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
नयाँ सरकार गठन भएयता सेयर बजार निरन्तर ओरालो लागिरहेको छ । सरकार गठन हुनुअघि २९६० को बिन्दुमा पुगेको नेप्से हालसम्म २८४ अंकले घटिसकेको छ ।
पछिल्लो समय व्यवसायीहरूमाथि भएको धरपकडले पनि लगानीकर्तामा मनोवैज्ञानिक त्रास बढाएको छ । बजारको ठूलो हिस्सा ठूला व्यवसायीले नै होल्ड गर्ने भएकाले उनीहरूमाथि धरपकड हुन थालेपछि बजारमा एक किसिमकाे त्रास बढाएको देखिन्छ ।
आइतबार कारोबारमा आएकामध्ये जम्मा ७ वटा कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने २६१ वटा कम्पनीको मूल्य घटेको छ ।
कारोबार भएका सबै १३ वटै उपसमूहको सूचक राताम्मे बनेका छन् । सबैभन्दा धेरै ‘अन्य’ उपसमूह ६.०९ प्रतिशतले घटेको छ । यस उपसमूहमा रहेका दुई ठूला कम्पनी— नेपाल रिइन्स्योरेन्स र हिमालयन रिइन्स्योरेन्सको मूल्यमा आएको उच्च गिरावटले समग्र समूहलाई प्रभावित पारेको हो ।
त्यसैगरी, जलविद्युत् ४.८४, विकास बैंक ४.३२, फाइनान्स ३.९४, निर्जीवन बीमा ३.८६, जीवन बीमा ३.५९, व्यापार ३.५८, माइक्रोफाइनान्स ३.४३, बैंकिङ ३.३२, लगानी ३.३२, होटल तथा पर्यटन ३.०४ र उत्पादन तथा प्रशोधन उपसमूह १.३३ प्रतिशतले घटेका छन् ।
समग्र बजारमा भारी गिरावट आउँदा पनि भर्खरै नेप्सेमा सूचीकृत भएका ६ वटा नयाँ कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट (१० प्रतिशतको वृद्धि) लागेको छ । रिलायन्स स्पिनिङ मिल्स, सुपरखुदी हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुण्ड हाइड्रोइलेक्ट्रिक, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इनको मूल्य १० प्रतिशतले बढेको हो ।
यता, ७ वटा कम्पनीको सेयर मूल्यमा भने नकारात्मक सर्किट (१० प्रतिशतको गिरावट) लागेको छ । नारायणी डेभलपमेन्ट बैंक, हिमालयन रिइन्स्योरेन्स, भूगोल इनर्जी, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, सप्तकोशी विकास बैंक, पियोर इनर्जी र सान्भी इनर्जीको मूल्य १० प्रतिशतले घटेको हो । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनी (नेपाल रिइन्स्योरेन्स) को मूल्य पनि ९.६२ प्रतिशतले ओरालो लागेको छ ।
आइतबार सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीमा हिमालयन रिइन्स्योरेन्स अग्रस्थानमा रहेको छ । त्यसपछि क्रमशः शिवम् सिमेन्ट, ङादी ग्रुप पावर, नेसनल हाइड्रोपावर र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको सर्वाधिक सेयर किनबेच भएको छ ।