चन्द्रगढी महिला गोल्डकपको खेल तालिका सार्वजनिक : विजेताले ११ लाख रुपियाँ पाउने

काठमाडौँ, भदौ २३ । झापाको भद्रपुरमा आयोजना हुन लागेको ‘चन्द्रगढी महिला गोल्डकप’ फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ । आयोजक चन्द्रगढी युवा क्लबले आज एक कार्यक्रमका बीच आगामी वैशाख ५ गतेदेखि सुरु हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।

यही वैशाख ५ देखि १४ गतेसम्म भद्रपुरस्थित मेची रङ्गशालामा सञ्चालन हुने यस प्रतियोगिताको विजेताले नगद ११ लाख रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ । आयोजकका अनुसार महिला फुटबल प्रतियोगितामा यो नेपालकै सर्वाधिक पुरस्कार राशि हो । त्यसैगरी, उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने क्लबका अध्यक्ष रोहित सुब्बाले जानकारी दिनुभयो ।

यस्तो छ खेलतालिका
सार्वजनिक तालिकाअनुसार वैशाख ५ गते हुने उद्घाटन खेलमा पोखराको ‘आरएस पोखरा फुटबल क्लब’ र ‘त्रिभुवन आर्मी फुटबल क्लब’ भिड्नेछन् ।

  • वैशाख ६ गते : थिम्पु सिटी फुटबल क्लब (भुटान) विरुद्ध चर्च ब्वाइज युनाइटेड 

  • वैशाख ७ गते : नेपाल पुलिस क्लब विरुद्ध आयोजक चन्द्रगढी युवा क्लब 

  • वैशाख ८ गते : एपीएफ फुटबल क्लब विरुद्ध पदमा स्पोर्ट्स क्लब (ओखलढुङ्गा) 

  • वैशाख ९ गते : पुलिस र आयोजकबीचको विजेता विरुद्ध रानी लक्ष्मीबाई स्पोर्ट्स एकेडेमी (भारत) 

  • वैशाख १० गते : एपीएफ र पदमाबीचको विजेता विरुद्ध सङ्कटा फुटबल क्लब 

प्रतियोगिताको पहिलो सेमिफाइनल वैशाख १२ गते र दोस्रो सेमिफाइनल वैशाख १३ गते हुनेछ । उपाधिको लागि निर्णायक फाइनल भिडन्त वैशाख १४ गते हुनेछ ।

पुरस्कार र प्रायोजन
प्रतियोगिताको प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ले १० हजार रुपियाँ प्राप्त गर्नेछन् । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजार रुपियाँ प्रदान गरिनेछ । विधागततर्फ उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले जनही २५ हजार रुपियाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।

यस प्रतियोगिताको मुख्य प्रायोजक भद्रपुरस्थित ओम साई पाथिभरा हस्पिटल रहेको छ । महिला फुटबलको विकास र व्यावसायिकतालाई प्रवर्द्धन गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गर्न लागिएको हो ।