पाकिस्तानको मध्यस्थतापछि ट्रम्प पछि हटे: इरानमाथिको आक्रमण दुई हप्ताका लागि स्थगित, होर्मुज जलमार्ग खुल्ने

काठमाडौँ, २५ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने भनिएको भीषण सैन्य आक्रमणलाई दुई हप्ताका लागि स्थगित गर्न सहमति जनाएका छन्। पाकिस्तानको उच्चस्तरीय मध्यस्थतापछि ट्रम्प आफ्नो पूर्वघोषित कडा अडानबाट पछाडि हटेका हुन्।

यसअघि ट्रम्पले इरानलाई चेतावनी दिँदै ‘आज राति पूरै सभ्यता नष्ट हुनेछ’ भनी धम्कीपूर्ण अभिव्यक्ति दिएका थिए। तर, आफूले दिएको समयसीमा सकिनुअघि नै पाकिस्तानी नेतृत्वसँगको संवादपछि उनले सैन्य कारबाही रोक्ने निर्णय गरेका हुन् ।

राष्ट्रपति ट्रम्पले यस समझदारीको श्रेय पाकिस्तानलाई दिएका छन् । उनले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत एक वक्तव्य जारी गर्दै पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफ र फिल्ड मार्शल आसिम मुनीरसँग भएको कुराकानीका आधारमा आक्रमणको योजना तत्कालका लागि टालिएको बताए।

यो सम्झौताको मुख्य सर्तका रूपमा इरान रणनीतिक महत्वको ‘स्ट्रेट अफ होर्मुज’ (होर्मुज जलडमरूमध्य) लाई पूर्ण, तत्काल र सुरक्षित रूपमा खुला गर्न तयार भएको छ। “पाकिस्तानी प्रधानमन्त्री र फिल्ड मार्शलको आग्रहमा म इरानतर्फ पठाइँदै गरिएको विनाशकारी शक्ति रोक्न सहमत भएको छु, यसका लागि इरानले होर्मुज क्षेत्रको आवागमन सहज बनाउनुपर्नेछ,” ट्रम्पको वक्तव्यमा उल्लेख छ।

यसैबीच, पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले यो समझदारीलाई युद्ध रोक्ने दिशामा ठूलो सफलता भन्दै स्वागत गरेका छन् । उनले थप कूटनीतिक छलफल र स्थायी समाधानको बाटो खोज्नका लागि अमेरिका र इरान दुवै पक्षलाई इस्लामावादमा वार्ताका लागि निमन्त्रणा समेत गरेका छन् ।

यो नयाँ विकासक्रमले मध्यपूर्वमा चुलिएको युद्धको सन्त्रासलाई तत्कालका लागि केही मत्थर बनाएको छ। विश्व ऊर्जा आपूर्तिका लागि लाइफलाइन मानिने होर्मुज जलमार्ग खुल्ने खबरले अन्तर्राष्ट्रिय बजारमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।