इजरायलमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन दूतावासको अपिल
काठमाडौँ, २५ चैत । मध्यपूर्वमा विकसित पछिल्लो तनावपूर्ण परिस्थिति र जारी युद्धका कारण उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली नागरिकहरूका लागि विशेष सुरक्षा ‘एड्भाइजरी’ जारी गरेको छ ।
दूतावासले इजरायलमा रहेका सम्पूर्ण नेपालीहरूलाई स्थानीय सुरक्षा मापदण्डको पूर्ण पालना गर्न र उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।
बुधबार एक विज्ञप्ति जारी गर्दै दूतावासले इजरायल सरकार र आधिकारिक निकायहरूले जारी गर्ने सूचना र निर्देशनहरूको अनिवार्य पालना गर्न अनुरोध गरेको छ । विशेषगरी युद्धकालीन समयमा अपनाउनुपर्ने सुरक्षा सतर्कता र साइरनले दिने सङ्केतबारे सधैँ अद्यावधिक रहन दूतावासले ध्यानाकर्षण गराएको छ ।
१. साइरन र अलर्टको पालना: साइरन बज्नासाथ वा मोबाइलमा ‘एसएमएस’ मार्फत सुरक्षा अलर्ट प्राप्त हुनासाथ कुनै पनि हेलचेक्र्याइँ नगरी तुरुन्तै नजिकैको बम सेल्टरमा जान र सुरक्षित स्थानमा बस्न भनिएको छ ।
२. महत्त्वपूर्ण कागजातको व्यवस्थापन: आफ्नो राहदानी (पासपोर्ट), परिचयपत्र, सवारी चालक अनुमतिपत्र र बैंक कार्डलगायतका अत्यावश्यक कागजातहरू सधैँ साथमै राख्न र सुरक्षित तवरले व्यवस्थापन गर्न आग्रह गरिएको छ ।
३. सूचना र सञ्चार: विकास भइरहेका घटनाक्रमबारे आधिकारिक स्रोतहरूबाट मात्र जानकारी लिन, आफ्नो परिवार र आफन्तसँग नियमित सम्पर्कमा रहन र अप्ठ्यारो परेको खण्डमा तत्काल दूतावासमा जानकारी गराउन भनिएको छ ।
४. सामाजिक सञ्जालको प्रयोग: युद्ध र हिंसासँग सम्बन्धित विभत्स एवं भ्रम फैलाउने खालका भिडियो तथा तस्बिरहरू सामाजिक सञ्जालमा अनावश्यक रूपमा सेयर नगर्न र संयमता अपनाउन दूतावासले सचेत गराएको छ ।
दूतावासले नेपाली नागरिकहरूलाई आफू बसेकै स्थानमा सुरक्षित रहन र विना काम बाहिर ननिस्कन समेत अपिल गरेको छ । कुनै पनि आपत्कालीन अवस्था आएमा वा सहयोग आवश्यक परेमा नेपाली राजदूतावासको हटलाइन नम्बरमा सम्पर्क गर्न सकिने जानकारी गराइएको छ ।