लेबनानमा इजरायली बमबारीले अमेरिका–इरान युद्धविराम सङ्कटमा : एकैदिन १८२ जनाको मृत्यु, राष्ट्रसङ्घद्वारा गहिरो चिन्ता व्यक्त

एजेन्सी, २६ चैत्र । लेबनानमा इजरायलले गरिरहेको घातक सैन्य आक्रमणका कारण अमेरिका र इरानबीच भर्खरै भएको दुई हप्ते अस्थायी युद्धविराम सङ्कटमा परेको छ । मध्यपूर्वमा द्वन्द्व थप चर्कने सङ्केत देखिएसँगै संयुक्त राष्ट्रसङ्घले गहिरो चिन्ता व्यक्त गर्दै शान्तिका लागि भइरहेका कूटनीतिक प्रयास कमजोर बनेको चेतावनी दिएको छ ।

बेरुतमा भीषण हमला : १८२ को मृत्यु, ८९० घाइते
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार राजधानी बेरुत र आसपासका क्षेत्रलाई केन्द्रित गरी इजरायलले गरेको भीषण हवाई आक्रमणमा कम्तीमा १८२ जनाको ज्यान गएको छ । उक्त आक्रमणमा परी ८९० जना घाइते भएका छन् । हिज्बुल्लाह र इजरायलबीच पछिल्लो तनाव सुरु भएयताकै यो सबैभन्दा ठूलो र विनाशकारी आक्रमण भएको बताइएको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले लेबनानमा जारी सैन्य गतिविधिले क्षेत्रीय स्थायित्व र दीर्घकालीन शान्ति स्थापनाको प्रयासलाई गम्भीर चुनौती दिएको बताउनुभएको छ । “द्वन्द्वको कुनै सैन्य समाधान हुँदैन,” महासचिव गुटेरेसको भनाइ उद्धृत गर्दै उहाँका प्रवक्ताले भनेका छन्, “हामी सबै पक्षलाई तत्काल आक्रमण रोकेर वार्ता र कूटनीतिको बाटो रोज्न आह्वान गर्दछौँ ।”

यसैगरी, राष्ट्रसङ्घका मानव अधिकार उच्चायुक्त भोल्कर टर्क र अन्तर्राष्ट्रिय रेडक्रस समितिले लेबनानमा भएको व्यापक हत्या र विनाशलाई ‘भयावह’ भन्दै कडा निन्दा गरेका छन् । उच्चायुक्त टर्कले अमेरिका र इरानबीच युद्धविराम सहमति भएको केही घण्टामै यस्तो हिंसा भड्किनु आपसी विश्वासमाथिको गम्भीर आघात भएको टिप्पणी गर्नुभएको छ ।

अमेरिका र इरानबीच दुई साताको युद्धविराम सहमति भए पनि इजरायलले लेबनानमाथिको आफ्नो सैन्य कारबाही उक्त सहमतिको दायरामा नपर्ने जिकिर गर्दै आएको छ । उता, इरान समर्थित लेबनानी लडाकु समूह हिज्बुल्लाहले पनि इजरायलतर्फ निरन्तर रकेट प्रहार गरिरहँदा स्थिति थप तनावपूर्ण बनेको छ ।

इजरायलको यस रवैयापछि इरानी संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफले अमेरिकासँग भएको युद्धविरामको औचित्यमाथि नै प्रश्न उठाउनुभएको छ ।

फ्रान्सको अपिल
यसैबीच, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले लेबनानको अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले लेबनानलाई समेत समेट्ने गरी मध्यपूर्वमा विस्तृत र प्रभावकारी युद्धविरामको पहल गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपिल गर्नुभएको छ ।