नेप्सेमा लगातार वृद्धि : परिसूचक २८५० पार, कारोबार रकम १० अर्ब नजिक

काठमाडौं, २५ चैत्र । सेयर बजार मापक नेप्से परिसूचकमा उकालो लाग्ने क्रम जारी छ । अघिल्लो दिन (बुधबार) बढेको बजारले बिहीबार पनि सोही वृद्धिको लयलाई निरन्तरता दिँदा परिसूचक र कारोबार रकम दुवैमा उत्साहजनक सुधार देखिएको छ ।

बिहीबार नेप्से परिसूचक ४८.७१ अङ्कले बढेर २८५१.२४ विन्दुमा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४.६४ अङ्कले उकालो लागेको छ ।

परिसूचकसँगै बजारमा कारोबार रकम (टर्नओभर) मा पनि उल्लेख्य वृद्धि भएको छ । बुधबार ८ अर्ब ३१ करोडको कारोबार भएको बजारमा बिहीबार करिब १० अर्ब नजिकको सेयर किनबेच भएको छ । यस दिन ३३८ कम्पनीका २ करोड ७९ लाख ३१ हजार कित्ता सेयर १ लाख ८ हजार ८६९ पटक खरिदबिक्री हुँदा कुल ९ अर्ब ९१ करोड ९२ लाख १० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

बिहीबारको बजारमा ८ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट (करिब १० प्रतिशतको वृद्धि) लागेको छ । आत्मनिर्भर लघुवित्त, रिलायन्स स्पिनिङ मिल्स, भुजुङ्ग हाइड्रोपावर, रिज लाइन इनर्जी, सोलु हाइड्रोपावर, होटल फरेस्ट इन, सुपर खुदी हाइड्रोपावर र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

त्यस्तै, हिम स्टार ऊर्जा कम्पनीको सेयर मूल्य साढे ९ प्रतिशतभन्दा बढी र हिमालयन रि–इन्स्योरेन्सको साढे ७ प्रतिशतले बढेको छ । अर्कोतर्फ, एनआईसी एसिया ब्यालेन्स्ड फन्डका एकाइधनीले भने यस दिन सर्वाधिक ६.७४ प्रतिशतले गुमाएका छन् ।

कारोबार रकमका आधारमा यस दिन नेसनल हाइड्रोपावर कम्पनी अग्रस्थानमा रह्यो । उक्त कम्पनीको सर्वाधिक ४३ करोड ४७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो । त्यसैगरी, रिडी पावर कम्पनीको ४१ करोड रुपैयाँभन्दा बढी र हिमालयन रि–इन्स्योरेन्सको करिब ४० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यस दिन नेप्सेमा सूचीकृत १३ वटै उपसमूहको परिसूचक बढेर बजारमा पूरै हरियाली छाएको छ । जसमध्ये ‘अन्य’ उपसमूहको परिसूचक सर्वाधिक ३.४३ प्रतिशतले बढेको छ । त्यसैगरी, होटल तथा पर्यटन, जलविद्युत् र उत्पादन तथा प्रशोधन उपसमूह २ प्रतिशतभन्दा बढीले उकालो लाग्दा बैंकिङ, वित्त, लगानी, लघुवित्त र निर्जीवन बिमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले बढेका छन् ।