बक्यौता नबुझाउने मेडिकल र डेन्टल कलेजलाई काउन्सिलको २१ दिने अल्टिमेटम : नतिरे विद्यार्थी र विदेशी शिक्षकको दर्ता रोक्ने चेतावनी
काठमाडौं, २७ चैत्र । नेपाल मेडिकल काउन्सिलले विद्यार्थी भर्नाबापतको बक्यौता रकम नबुझाउने विभिन्न प्रतिष्ठान, मेडिकल तथा डेन्टल कलेजहरूलाई २१ दिन (तीन साता) भित्र सम्पूर्ण रकम चुक्ता गर्न अल्टिमेटम दिएको छ । पटक–पटक ताकेता गर्दा पनि अटेर गरेपछि काउन्सिलले सार्वजनिक सूचना नै जारी गरी कडा चेतावनी दिएको हो ।
काउन्सिलका निमित्त रजिस्ट्रार डा. दीपेन्द्र पाण्डेका अनुसार, स्नातक तथा स्नातकोत्तर तहको अध्ययन गराउने कलेजहरूले विद्यार्थी भर्नाबापत काउन्सिललाई बुझाउनुपर्ने शुल्क लामो समयदेखि बुझाएका छैनन् । उहाँले पटक–पटक पत्राचार र ताकेता गर्दा पनि बेवास्ता गरिएपछि अन्तिम पटकका लागि तीन साताको समयसीमा तोकिएको जानकारी दिनुभयो ।
तोकिएको समयसीमाभित्र बक्यौता नबुझाउने कलेजहरूमाथि कडा कारबाही गरिने काउन्सिलले जनाएको छ । काउन्सिलद्वारा जारी सूचनामा भनिएको छ, “२१ दिनभित्र रकम नबुझाउने प्रतिष्ठान, मेडिकल तथा डेन्टल कलेजका विद्यार्थीहरूको परीक्षण दर्ता र त्यहाँ कार्यरत विदेशी नागरिक चिकित्सक/शिक्षकहरूको दर्ता काउन्सिलबाट रोक्का गरिनेछ ।”
यसका साथै, दिइएको अल्टिमेटमको बेवास्ता गर्ने कलेज तथा प्रतिष्ठानहरूको नाम र उनीहरूले तिर्नुपर्ने बक्यौता रकमसहितको विस्तृत विवरण नै सार्वजनिक गरिदिने चेतावनीसमेत काउन्सिलले दिएको छ ।