दोस्रो मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रुपन्देहीलाई
काठमाडौँ, चैत २८ । दाङको घोराहीमा सम्पन्न ‘दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिता’ को उपाधि रुपन्देही जिल्लाले हात पारेको छ । आज भएको फाइनल प्रतिस्पर्धामा पाल्पालाई ३-० को सोझो सेटमा पराजित गर्दै रुपन्देही च्याम्पियन बनेको हो। उपाधि भिडन्तमा रुपन्देहीले पाल्पामाथि क्रमशः २५-१७, २५-१८ र ३०-२८ को रोमाञ्चक जित निकालेको थियो ।
प्रतियोगितामा प्रथम स्थान हासिल गरेसँगै रुपन्देहीले नगद एक लाख रुपियाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। त्यसैगरी, उपविजेता बनेको पाल्पाले नगद ६५ हजार रुपियाँ, सिल्ड, मेडल तथा प्रमाणपत्रमा चित्त बुझाएको छ।
प्रतियोगितामा रुकुम पूर्वले तेस्रो स्थान प्राप्त गरेको छ भने बर्दिया चौथो भएको छ। तेस्रो हुने रुकुम पूर्वले नगद ३५ हजार रुपियाँ र चौथो स्थान हासिल गरेको बर्दियाले नगद १५ हजार रुपियाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् । लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका महिला टोलीहरूको सहभागिता रहेको उक्त प्रतियोगिताले प्रदेशको खेलकुद विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ ।