भोजपुरमा वैशाख ६ देखि नवौँ मेयर गोल्डकप आयोजना हुने : विजेताले पाँच लाख रुपियाँ पाउने

भोजपुर, ३० चैत । भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा आगामी वैशाख ६ गतेदेखि १२ गतेसम्म नवौँ संस्करणको ‘मेयर भोजपुर गोल्डकप’ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । आयोजक भोजपुर जिल्ला फुटबल सङ्घले आइतबार पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताको तयारी र विस्तृत विवरणबारे जानकारी दिएको हो ।

प्रतियोगितामा ‘ए’ डिभिजन क्लबसहित कुल आठवटा टोलीले सहभागिता जनाउने निश्चित भएको छ । जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रवीनकुमार सुवालका अनुसार प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले ३ लाख रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसका साथै उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न विधामा आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।

सहभागी टोलीहरू
यस पटकको प्रतियोगितामा सातदोबाटो युथ क्लब (ललितपुर), एपीएफ फुटबल क्लब (काठमाडौँ), प्लानिङ ब्वाइज युनाइटेड (काठमाडौँ), एल एक्स सिटी (मोरङ), सङ्खुवासभा–११ (सङ्खुवासभा), केपिलासगढी गाउँपालिका (खोटाङ), द गोर्खाज फुटबल एकेडेमी (उदयपुर) र आयोजक भोजपुर जिल्ला फुटबल सङ्घको सहभागिता रहनेछ ।

पुरूषतर्फको यस बृहत् प्रतियोगिता सञ्चालनका लागि मुख्य प्रायोजक भोजपुर नगरपालिकाले ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

महिला फुटबल प्रतियोगिता पनि हुने
नगरपालिकाले पुरुष फुटबल लगत्तै महिला फुटबललाई पनि प्राथमिकतामा राखेको छ । वैशाख १७ देखि २० गतेसम्म आठौँ संस्करणको ‘मेयर कप’ महिला फुटबल प्रतियोगिता आयोजना गरिनेछ । महिलातर्फको विजेताले १ लाख ६ हजार र उपविजेताले ५१ हजार ५५५ रुपियाँ पुरस्कार पाउनेछन् । प्रतियोगितामा सहभागी हुन बाहिरबाट आउने टोलीहरूलाई तयारी खर्चस्वरूप २० हजार रुपियाँ उपलब्ध गराइने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनकै अवसरमा आयोजकले यसअघि सम्पन्न भएका प्रतियोगिताहरूको आय-व्यय विवरण समेत सार्वजनिक गरेको थियो । यो प्रतियोगिताले भोजपुरको खेलकुद विकास र पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिइएको छ ।