भक्तपुरमा विस्का जात्राको रौनक: उत्साहका साथ ठड्याइयो ५५ हात लामो प्रसिद्ध ‘याेसिं’

भक्तपुर, ३० चैत । भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक बिस्का जात्राको मुख्य आकर्षण मानिने ५५ हात लामो ‘याेसिं’ (लिङ्गो) सोमबार राति सफलतापूवर्क उठाइएको छ । भक्तपुर नगरपालिका–५ स्थित भेलुखेल (ल्योसिंखेल) मा तान्त्रिक विधिअनुसार पूजा गरी राति ८:०० बजे लिङ्गो उठाइएको हो ।

साँझदेखि नै उठाउने प्रयास सुरु गरिएको भए पनि सयौँ युवाहरूको घण्टौँको मेहनत र डोरीको सहायताले मात्र यस विशाल लिङ्गोलाई ठड्याउन सम्भव भएको थियो । पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको सङ्घारमा गरिने यो जात्रा हेर्न सोमबार दिनभर ल्योसिंखेलमा हजारौँ मानिसको घुइँचो लागेको थियो ।

जात्रा अवलोकनका लागि भक्तपुरका स्थानीय बासिन्दाका अतिरिक्त मध्यपुर थिमि, काठमाडौँ, ललितपुर र काभ्रेपलाञ्चोक लगायतका क्षेत्रबाट ठूलो सङ्ख्यामा श्रद्धालु एवं पर्यटकहरू पुगेका थिए । आठ रात नौ दिन लामो यस जात्राको सबैभन्दा महत्वपूर्ण र चुनौतीपूर्ण पक्ष नै ५५ हात लामो यो लिङ्गो ठड्याउनुलाई मानिन्छ ।

भोलि साँझ ढालिने
आज राति ठड्याइएको यस लिङ्गोलाई भोलि मङ्गलबार अर्थात् नयाँ वर्ष २०८३ साल वैशाख १ गते साँझ विधिवत् रूपमा ढालिनेछ । लिङ्गो ढालेपछि मात्र नयाँ वर्षको औपचारिक सुरुवात भएको मान्ने धार्मिक परम्परा समेत रहिआएको छ ।

शत्रुहन्ता जात्राका रूपमा चिनिने यस बिस्का जात्राको अवसरमा भक्तपुर यतिबेला उत्सवमय बनेको छ । जात्रालाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न प्रशासनले सुरक्षा व्यवस्था समेत कडा पारेको छ ।