नयाँ वर्षको पहिलो कारोबार दिन नेप्सेमा उत्साह : ३३ अङ्कले बढ्दा कारोबार रकम साढे १० अर्ब नाघ्यो

काठमाडौं, २ बैशाख । नयाँ वर्ष २०८३ को पहिलो कारोबार दिन (बुधबार) सेयर बजार मापक नेप्से परिसूचकमा उत्साहजनक वृद्धि देखिएको छ । अघिल्लो कारोबार दिन सामान्य अङ्कले घटेर बन्द भएको नेप्से, नयाँ वर्षको सुरुवातसँगै बढेर बन्द भएको हो ।

बुधबार नेप्से परिसूचक ३३.२७ अङ्कले बढेर २८६६.८७ विन्दुमा पुगेको छ । समग्र बजार बढ्दा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ५.२२ अङ्कले उकालो लागेको छ ।

परिसूचकसँगै यस दिन कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ । गत सोमबार ८ अर्ब ६६ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा बुधबार कारोबार रकम साढे १० अर्ब नाघेको छ । यस दिन ३४४ वटा कम्पनीका २ करोड ६४ लाख ३८ हजार कित्ता सेयर १ लाख २३ हजार ३५९ पटक किनबेच हुँदा कुल १० अर्ब ५३ करोड ७० लाख ८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

बुधबारको बजारमा ६ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट (१० प्रतिशतको वृद्धि) लागेको छ । रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेस्ट इन, सिन्धु विकास बैंक, पाल्पा सिमेन्ट इन्डस्ट्रिज र सुपर खुदी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।

त्यस्तै, शिखर पावर डेभलपमेन्टको सेयर मूल्य करिब १० प्रतिशत र सोलु हाइड्रोपावरको साढे ८ प्रतिशतभन्दा बढीले बढेको छ । अर्कोतर्फ, रिलायन्स स्पिनिङ मिल्सका लगानीकर्ताले भने यस दिन सर्वाधिक साढे ५ प्रतिशतभन्दा बढीले गुमाएका छन् ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स अग्रस्थानमा रह्यो । उक्त कम्पनीको सर्वाधिक ५८ करोड ९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो । त्यसैगरी, नेसनल हाइड्रोपावर कम्पनीको ५७ करोड र रिलायन्स स्पिनिङ मिल्सको ४९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

यस दिन नेप्सेमा सूचीकृत १३ वटै उपसमूहको परिसूचक बढेर बजारमा पूरै हरियाली छाएको छ । जसमध्ये ‘होटल तथा पर्यटन’ उपसमूहको परिसूचक सर्वाधिक ३.१६ प्रतिशतले बढेको छ । त्यस्तै, जलविद्युत् र व्यापार उपसमूह २ प्रतिशतभन्दा बढीले उकालो लाग्दा बैंकिङ, विकास बैंक र वित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले बढेका छन् ।