इन्धनमा पुनः मूल्यवृद्धि: डिजेल र मट्टितेल लिटरकै २३७ रुपैयाँ पुग्यो
काठमाडौँ, ३ चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा पुनः उल्लेख्य वृद्धि गरेको छ। निगम सञ्चालक समितिको बैठकले आज मध्यराति १२:०० बजेदेखि लागू हुने गरी डिजेल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य बढाउने निर्णय गरेको हो।
निगमले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ तथा आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरिएको छ।
परिवर्तित मूल्यअनुसार अब डिजेल र मट्टितेलको उपभोक्ता मूल्य प्रतिलिटर २३७ रुपैयाँ पुगेको छ। त्यस्तै, आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर २५६ रुपैयाँ कायम भएको छ। पेट्रोल र खाना पकाउने एलपी ग्यासको मूल्यमा भने यसपटक फेरबदल गरिएको छैन।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढिरहेको र इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ मूल्यसूचीअनुसार लागत निकै बढेकाले मूल्य समायोजन गर्नुपरेको निगमको तर्क छ।
मूल्य वृद्धि गर्दा समेत निगमले अझै पनि आफू ठूलो घाटामा रहेको दाबी गरेको छ। निगमद्वारा जारी विज्ञप्तिअनुसार हालको मूल्य समायोजनपछि पनि पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ३२ पैसा, डिजेलमा ८७ रुपैयाँ ९९ पैसा, मट्टितेलमा ३६ रुपैयाँ ७० पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ३३१ रुपैयाँ २५ पैसा घाटा कायमै छ।
यस हिसाबले निगमलाई पाक्षिक रूपमा (१५ दिनमा) करिब ७ अर्ब ८१ करोड ६१ लाख रुपैयाँ नोक्सानी हुने स्थिति रहेको जनाइएको छ। इन्धनको यो मूल्यवृद्धिले बजारमा महँगी अझ बढ्ने र सर्वसाधारणको दैनिकी थप कष्टकर हुने देखिएको छ।