‘असनको प्राचीन लय : यहाँ अब गाडीको हर्न होइन, सभ्यताको धुन गुञ्जिनेछ’ – कार्यवाहक प्रमुख डंगोल

काठमाडौँ, वैशाख ५ । असन भन्नाले धेरैको मानसपटलमा ‘नुनदेखि सुनसम्म’ पाइने एउटा व्यस्त र कोलाहलपूर्ण बजारको तस्बिर झल्किन्छ। तर, शनिबारको घामसँगै असनको एउटा अर्कै र मोहक रूप प्रकट भयो । वर्षौँदेखि सवारी साधनको धुलो र हर्नको कर्कश आवाजमा दबिएको असनको प्राचीन ‘डवली’ ले शनिबार श्वास फेर्ने मौका पायो ।

काठमाडौँ महानगरपालिकाले सुरु गरेको ‘असन पुनरुत्थान अभियान’ सँगै यो ऐतिहासिक व्यापारिक केन्द्र अब केवल बजार मात्र रहेन, एउटा सजीव संग्रहालयका रूपमा फेरिने तरखरमा छ ।

एउटा पदयात्रा, जुन इतिहासतर्फ मोडियो

शनिबार बिहान कःमिलाछी (दरबार हाइस्कूल छेउ) बाट असनतर्फ एउटा र्‍याली अघि बढ्दै गर्दा दृश्य निकै लोभलाग्दो थियो। एकातिर परम्परागत धिमे र भुस्याह बाजाको गुञ्जन, अर्कोतिर नेवारी पोशाकमा सजिएका १३ वटा गुठी र सांस्कृतिक समूहका सदस्यहरू। असनदेखि भोटाहिटी र महाबौद्ध हुँदै क्यलःत्वाः (केलटोल) सम्म पुग्दा यो केवल पदयात्रा मात्र थिएन, काठमाडौँको हराउँदै गएको मौलिकतालाई पुनः जगाउने एउटा संकल्प थियो।

उद्घाटन समारोहमा महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले एउटा मार्मिक प्रश्न उठाउनुभयो, जसले यो अभियानको आवश्यकतालाई प्रष्ट पार्छ – “हाम्रो घरबाहिर हजारौँ वर्षको इतिहास बोकेका संरचना छन्, तर सडकमा गाडीको असुरक्षाले गर्दा अभिभावकहरू बालबालिकालाई बाहिर पठाउन डराउँछन्। जब बालबालिका आँगनमा आउँदैनन्, उनीहरूले आफ्नै पूर्खाको नासो कसरी चिन्ने?”

डंगोलका अनुसार, यो अभियान गाडी चलाउनेको भन्दा बढी हिँड्नेको अधिकार स्थापित गर्ने प्रयास हो । अबदेखि हरेक शनिबार असन क्षेत्रमा बालबालिका र ज्येष्ठ नागरिकले निर्धक्कसँग सांस्कृतिक क्रियाकलापमा भाग लिन पाउनेछन् । असनको प्राचीन लय, यहाँ अब गाडीको हर्न होइन, सभ्यताको धुन गुञ्जिनेछ ।

आधुनिकता र परम्पराको सङ्गम

यस अभियानको रोचक पक्ष भनेको परम्पराको संरक्षणसँगै आधुनिक सुविधाको संयोजन पनि हो । पदयात्राकै क्रममा कःमिलाछी र महाबौद्धमा ‘वाटर एटीएम’ वुथको उद्घाटन गरियो। यसले भक्त र पर्यटकलाई निःशुल्क स्वच्छ पिउने पानी उपलब्ध गराउनेछ, जसले प्लास्टिकजन्य फोहोर कम गर्न समेत सघाउनेछ ।

वडा नं. २७ ले नेतृत्व लिएको यो कार्यक्रममा स्थानीय अन्नपूर्ण आरसीटी क्लव, टोल सुधार समिति र गुठियारहरूको सक्रियताले एउटा कुरा प्रष्ट पारेको छ— सम्पदा बचाउन सरकारको प्रयास मात्र पर्याप्त हुँदैन, समुदायको मुटु पनि धड्किनुपर्छ।

वडा नं. २५ का अध्यक्ष राजेश डंगोल र २७ का अध्यक्ष योगेशकुमार खड्गीका अनुसार, यो कार्यक्रम अब हरेक शनिबार नियमित रूपमा सञ्चालन हुनेछ। “हामीले नेतृत्व गरे पनि यसलाई जीवन्त राख्ने काम यहाँका युवा र गुठीहरूले गर्नेछन्,” खड्गी भन्नुहुन्छ।

असन: केवल बजार होइन, जीवनशैली

अन्नपूर्ण आरसीटी क्लवका अध्यक्ष राजेश श्रेष्ठ असनलाई एउटा छुट्टै संसार मान्नुहुन्छ। “यहाँ जन्मदेखि मृत्युसम्मका संस्कारका सामान मात्र पाइँदैन, यहाँ त आयुर्वेदिक औषधि, परम्परागत उपचार र रैथाने ज्ञानको भण्डार पनि छ,” उहाँ भन्नुहुन्छ। डवली, पाटी, बहाल र ननीहरूले भरिएको यो क्षेत्रको भौतिक स्वरूप बिस्तारै बदलिँदै गए पनि, यो अभियानले यसको ‘आत्मा’ जोगाउने विश्वास पलाएको छ।

सम्पदा समितिका संयोजक आशामान संगतले त यो अभियानलाई ‘नेवार सभ्यताको निरन्तरता’ को संज्ञा दिनुभयो। हाँडीगाउँबाट सुरु भएको यो सांस्कृतिक जागरण अब असन हुँदै शहरका अन्य प्राचीन बस्तीहरूमा पनि फैलिने तयारीमा छ।

पैदलयात्रीका लागि ‘नयाँ असन’

अब शनिबारको दिन असन क्षेत्र ‘नो भेइकल जोन’ जस्तै हुनेछ । जमल, भोटाहिटी, वीर अस्पताल र इन्द्रचोकबाट असनतर्फ आउने सवारी साधनहरूलाई रोकेर पैदलयात्रीलाई प्राथमिकता दिइएको छ। आगन्तुकहरूका लागि धरहराको भूमिगत पार्किङ र दरबार हाइस्कूल जस्ता स्थानमा सवारी राख्ने व्यवस्था मिलाइएको छ ।

शनिबारको असनमा अब स्थानीय व्यापार मात्र हुने छैन, त्यहाँ रैथाने सीपको प्रदर्शनी, परम्परागत नाचगान र हराउँदै गएका स्वादहरू पनि भेटिनेछन् ।

काठमाडौँ महानगरको यो कदमले एउटा आशा जगाएको छ – हाम्रा प्राचीन बस्तीहरू सवारी साधनको पार्किङ स्थल मात्र होइनन्, यी त हाम्रा जीवन्त सभ्यताका केन्द्र हुन् । र, असनको यो ‘पुनरुत्थान’ ले भोलिको पुस्तालाई आफ्नै माटो र मौलिकतासँग जोडिने एउटा बलियो सेतु प्रदान गरेको छ ।