शान्ति सम्झौता नभएसम्म इरानी बन्दरगाहमा नाकाबन्दी जारी रहने: राष्ट्रपति ट्रम्प

एजेन्सी, ५ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग औपचारिक शान्ति सम्झौता नभएसम्म इरानी बन्दरगाहहरूमा अमेरिकी नौसैनिक नाकाबन्दी कायम राख्ने घोषणा गर्नुभएको छ । तेहरान र वासिङ्टनबीच यसअघि भएको अस्थायी युद्धविराम आगामी बुधबार समाप्त हुँदै गर्दा ट्रम्पको यस्तो कडा प्रतिक्रिया आएको हो ।
पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले युद्धविरामको म्याद थप नगर्ने तर नाकाबन्दीलाई भने निरन्तरता दिने स्पष्ट पार्नुभयो । यसअघि पाकिस्तानको इस्लामाबादमा भएको उच्चस्तरीय वार्तामा दुवै पक्षका मागहरूमा ठूलो भिन्नता देखिएपछि कुनै ठोस सहमति हुन सकेको थिएन ।

इजरायल र लेबनानबीचको युद्धविराम सम्झौता पश्चात् इरानले शुक्रबार रणनीतिक महत्वको ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोलेको छ । यद्यपि, अमेरिकी नाकाबन्दी जारी रहे पुनः जलमार्ग बन्द गर्ने इरानले धम्की दिएको छ । ट्रम्पले भने अब होर्मुज हुँदै जाने जहाजहरूमा इरानले कुनै पनि प्रकारको ‘ट्रान्जिट’ शुल्क लगाउन नपाउने दाबी गर्नुभएको छ ।

सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत राष्ट्रपति ट्रम्पले होर्मुज जलमार्ग खुल्दा चिनियाँ राष्ट्रपति सी जिनपिङ निकै खुसी भएको उल्लेख गर्नुभएको छ । आगामी मे महिनामा चीनको बेइजिङमा आयोजना हुने शिखर सम्मेलनका क्रममा आफ्ना समकक्षी सीसँग ‘विशेष र ऐतिहासिक’ भेटघाट हुने समेत उहाँले जानकारी दिनुभयो ।

गत फेब्रुअरी २८ देखि सुरु भएको युद्ध अन्त्य गर्न ट्रम्पले इरानसमक्ष एउटा कडा सर्त अघि सार्नुभएको छ । ट्रम्पका अनुसार इरानले आफ्नो मुलुकमा भण्डारण गरिएको सम्पूर्ण युरेनियम संयुक्त राज्य अमेरिकालाई हस्तान्तरण गर्नुपर्नेछ ।

यद्यपि, इरानको विदेश मन्त्रालयले भने यसअघि नै आफ्नो युरेनियम भण्डार कुनै पनि हालतमा अर्को मुलुकलाई हस्तान्तरण नगर्ने अडान सार्वजनिक गरिसकेको छ । युरेनियमको मुद्दा र नाकाबन्दीका कारण मध्यपूर्वको तनाव तत्काल साम्य हुने सङ्केत नदेखिएको विश्लेषण गरिएको छ ।