मरेको कुखुराको मासु खाँदा कैलालीमा दुई बालकको मृत्यु, आमा र अर्का छोरा गम्भीर बिरामी

कैलाली, ५ वैशाख । कैलालीको चुरे गाउँपालिकामा मरेको ब्रोइलर कुखुराको मासु खाँदा एकै परिवारका दुई बालकको मृत्यु भएको छ । वैशाख ३ गते मरेको कुखुराको मासु सेवन गरेपछि बिरामी परेका चुरे गाउँपालिका–३ भक्तपुरका दुई दाजुभाइको उपचारका क्रममा प्रादेशिक अस्पतालमा ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका सहायक प्रवक्ता एवं प्रहरी निरीक्षक कैलाश विष्टका अनुसार मृत्यु हुनेमा ८ वर्षीय भीम ताम्राकार र ५ वर्षीय दीपक ताम्राकार रहेका छन् । सोही मासु खाएका उनीहरूकी २८ वर्षीया आमा राधिका ताम्राकार र ३ वर्षीय भाइ दीपेश ताम्राकार पनि गम्भीर बिरामी परेका छन् । उनीहरूको हाल धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको र अवस्था स्थिर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार यो घटना बिहीबारको भए पनि ढिलो गरी शुक्रबार मात्र प्रहरीलाई खबर गरिएको थियो । जानकारी प्राप्त हुनासाथ प्रहरीको समन्वयमा बिरामीहरूलाई उद्धार गरी उपचारका लागि धनगढी ल्याइएको थियो । समयमै उपचार हुन नसक्दा दुई बालकको ज्यान गएको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

प्रारम्भिक अनुसन्धानबाट उनीहरूले स्थानीय एक पोल्ट्री फार्मबाट मरेको कुखुराको मासु ल्याएर खाएको खुलेको छ । घटना बाहिरिएपछि फार्म सञ्चालक आफैँ इलाका प्रहरी कार्यालय मालाखेतीमा उपस्थित भएका छन् । प्रहरीले उनलाई आवश्यक परेको बेला उपस्थित हुने सर्तमा हाललाई आफन्तको जिम्मा लगाएको छ ।

अस्वस्थ र मरेका पशुपक्षीको मासु सेवन गर्दा ‘फूड पोइजनिङ’ भएर ज्यान समेत जान सक्ने भन्दै चिकित्सकहरूले सचेत रहन आग्रह गरेका छन् । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।