वीरगन्ज नाकाबाट विद्युतीय सवारी आयात शतप्रतिशतले वृद्धि, ९ महिनामै ३ अर्बको गाडी भित्रिए
वीरगन्ज, १५ वैशाख । चालु आर्थिक वर्षको पहिलो नौ महिनामा वीरगन्ज नाका हुँदै करिब ३ अर्ब रुपैयाँ (२ अर्ब ९८ करोड) बराबरका विद्युतीय सवारीसाधन आयात भएका छन्।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष विद्युतीय सवारीसाधनको आयात १०२ प्रतिशतले वृद्धि भएको हो। गत आर्थिक वर्षको पहिलो नौ महिनामा यस नाकाबाट जम्मा १ अर्ब ४८ करोड रुपैयाँका विद्युतीय सवारीसाधन भित्रिएका थिए।
वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार, चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्मको अवधिमा विद्युतीय गाडीको आयातमा उल्लेख्य (शतप्रतिशतभन्दा बढी) वृद्धि देखिएको छ। इन्धनको मूल्यवृद्धि र विद्युतीय सवारीमा सरकारले दिएको सहुलियतका कारण यसतर्फ उपभोक्ताको आकर्षण बढेको भन्सार अधिकारीहरूको भनाइ छ।
तथ्याङ्कअनुसार चालु आवको नौ महिनामा १ अर्ब ४६ करोड रुपैयाँ बराबरका ४९३ वटा विद्युतीय जिप, कार र भ्यान आयात भएका छन्। जबकि, गत वर्षको यही अवधिमा ४८ करोड रुपैयाँका जम्मा १७२ वटा मात्र जिप, कार र भ्यान भित्रिएका थिए।
त्यसैगरी, दुईपाङ्ग्रे सवारीतर्फ चालु आवमा ९६ करोड रुपैयाँका ७ हजार ३ सय ९८ वटा विद्युतीय मोटरसाइकल तथा स्कुटर आयात भएका छन्। गत वर्षको सोही अवधिमा ५५ करोड रुपैयाँ बराबरका ४ हजार २ सय २७ वटा मात्र विद्युतीय मोटरसाइकल आयात भएका थिए।
यस्तै, व्यावसायिक प्रयोजनका लागि प्रयोग हुने विद्युतीय तीनपाङ्ग्रे सवारीसाधनको आयात पनि बढेको छ। चालु आवको नौ महिनामा ५३ करोड रुपैयाँका ४ हजार ६ सय ६ वटा विद्युतीय तीनपाङ्ग्रे आयात हुँदा गत वर्षको सोही अवधिमा ४५ करोड रुपैयाँका ३ हजार ६ सय १३ वटा यस्ता सवारी भित्रिएका थिए।