सार्वजनिक यातायातको अव्यवस्था अन्त्य गर्न सुनिता डंगोलको कडा कदम : ३ दिनभित्र बसपार्क छिर्न यातायात व्यवसायीलाई ‘अल्टिमेटम’

काठमाडौँ, वैशाख ७ ।  काठमाडौँको सडकमा देखिने अव्यवस्थित लामो दुरीका बस, जताततै थापिएका टिकट काउन्टर र यात्रु तान्ने होडबाजीले शहरको कुरुपता मात्र बढाएको छैन, शहरी सुरक्षा र ट्राफिक व्यवस्थापनलाई समेत चुनौती दिइरहेको छ । वर्षौँदेखिको यो ‘सिन्डिकेट’ र अराजकतालाई चिर्न काठमाडौँ महानगरपालिकाले अब कठोर नीति लिने संकेत दिएको छ ।

यसै अभियानको नेतृत्व गर्दै कार्यवाहक प्रमुख सुनिता डंगोलले स्पष्ट सन्देश दिनुभएको छ – “अबको ३ दिनभित्र नयाँ बसपार्क छिर्नुस्, अन्यथा कानुनको सामना गर्न तयार हुनुस् ।”

अटेरी गर्नेलाई अन्तिम मौका

गत चैत २५ गते नै महानगरले सार्वजनिक सूचना जारी गर्दै लामो तथा छोटो दुरीका सबै सवारी साधन नयाँ बसपार्कभित्रबाट मात्रै सञ्चालन गर्न आग्रह गरेको थियो । केही यातायात व्यवसायी, विशेष गरी नुवाकोटतर्फका कम्पनीहरू यो प्रणालीमा आउन सकारात्मक देखिए पनि धादिङतर्फ चल्ने सवारी साधनले भने महानगरको सूचनालाई चुनौती दिँदै सडकमै अड्डा जमाइरहेका छन् ।

बैशाख ७ गते बसेको समीक्षा बैठकमा कार्यवाहक प्रमुख डंगोलले यसरी अटेरी गर्ने कम्पनीहरूलाई अब थप सहुलियत नदिने घोषणा गर्नुभयो । उहाँको निर्देशन छ – “हामीले पटक-पटक आग्रह गर्‍यौँ, अब यो अन्तिम मौका हो । ३ दिनभित्र बसपार्क नछिर्नेलाई कानुन बमोजिम कारवाही गरिनेछ ।”

एकीकृत अनुगमन र संयुक्त टोली

शहरको अव्यवस्था केवल बसपार्किङमा मात्र सीमित छैन । बैठकमा डंगोलले शहरको सुरक्षा, रात्रिकालीन व्यवसाय, र ध्वनी प्रदूषणका विषयमा पनि गम्भीर चिन्ता व्यक्त गर्नुभयो । ठमेल जस्ता पर्यटकीय क्षेत्रमा ध्वनी प्रदूषणले स्थानीयको जनजीवन कष्टकर बनेको र कतिपय व्यवसायमा अवाञ्छित क्रियाकलाप बढेको गुनासोलाई सम्बोधन गर्न उहाँले नयाँ रणनीति अघि सार्नुभएको छ ।

“महानगर प्रहरी र नेपाल प्रहरीको आफ्नै क्षेत्राधिकार छ, तर अब हामी संयुक्त टोली बनाएर एकैपटक अनुगमनमा जान्छौँ,” डंगोलले भन्नुभयो, “जब दुवै प्रहरी निकायले समन्वयात्मक रूपमा काम गर्छन्, तब मात्र व्यवस्थापनमा देखिने नतिजा आउनेछ ।”

प्रविधि र सुरक्षाको तालमेल

बैठकमा सुरक्षा निकायका उच्च अधिकारीहरूको पनि उपस्थिति थियो । अतिरिक्त प्रहरी महानिरीक्षक ईश्वर कार्कीले अब शहरको सुरक्षा जनशक्तिबाट मात्र नभई प्रविधिबाट गरिनुपर्नेमा जोड दिनुभयो । यस्तै, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले ठमेल क्षेत्रमा आपराधिक क्रियाकलापमा संलग्न विदेशी महिलाहरूलाई डिपोट गरिएको जानकारी दिँदै गुण्डागर्दी विरुद्धको अभियान जारी रहेको बताउनुभयो ।

सडक संकेत र अनुशासनका लागि उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीले महानगरसँगको सहकार्यलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

किन आवश्यक छ बसपार्कको प्रयोग?

तथ्याङ्क हेर्ने हो भने काठमाडौँबाट दैनिक करिब ७ सय सवारी साधन बाहिरिन्छन् । तर, तीमध्ये आधा अर्थात् ३५० वटा बस त बसपार्क बाहिरै पार्किङ गरिन्छन् र सडकमै यात्रु चढाउने-ओराल्ने गरिन्छ । यसले गर्दा कलङ्की, माछापोखरी र गोङ्गबु क्षेत्रको ट्राफिक व्यवस्था अस्तव्यस्त हुने गरेको छ ।

जब कि १६१ रोपनीमा फैलिएको नयाँ बसपार्कमा ७५० वटा सवारी साधन सजिलै अटाउन सक्छन् । ल्होत्से बहुउद्देश्यीय प्रा.लि.का अनुसार हाल त्यहाँ ५७ वटा कम्पनीका गाडीहरू मात्र सञ्चालित छन् । सहुलियत शुल्कमा पार्किङ र एकीकृत सेवाको सुविधा हुँदाहुँदै पनि सडक कब्जा गर्ने प्रवृत्तिलाई रोक्नु नै महानगरको मुख्य चुनौती बनेको छ ।

निर्णायक मोडमा महानगर

सुनिता डंगोलको नेतृत्वमा भएको यो पछिल्लो पहलले काठमाडौँलाई सुसंस्कृत र व्यवस्थित राजधानी बनाउने आशा जगाएको छ । ३ दिनको यो ‘अल्टिमेटम’ सकिएपछि महानगरले चाल्ने कदमले नै काठमाडौँको सडकमा वर्षौँदेखि जकडिएको बेथितिको अन्त्य हुने वा नहुने फैसला गर्नेछ ।

कार्यवाहक प्रमुख डंगोलको शब्दमा भन्नुपर्दा, “हामी व्यवस्थित शहर चाहन्छौँ, र त्यसका लागि नियम पालना गर्नुको विकल्प कसैलाई छैन ।”