साइबर सुरक्षा केन्द्रद्वारा ‘र्यानसमवेयर’ विरुद्ध विशेष चेतावनी : यस्ता छन् बच्ने उपायहरू
काठमाडौँ, वैशाख ७ । पछिल्लो समय सूचना प्रविधि प्रणालीमा ‘र्यानसमवेयर’ आक्रमणको जोखिम तीव्र रूपमा बढ्न थालेपछि राष्ट्रिय साइबर सुरक्षा केन्द्रले विशेष सुरक्षा ‘एडभाइजरी’ जारी गरेको छ । केन्द्रले आम नागरिक तथा सरकारी र निजी संस्थाहरूलाई आफ्ना डिजिटल उपकरण र डाटा सुरक्षित राख्न उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।
के हो र्यानसमवेयर?
र्यानसमवेयर एक प्रकारको घातक सफ्टवेयर हो । जसले कम्प्युटर वा मोबाइलमा रहेका फाइल र डाटाहरूलाई ‘इन्क्रिप्ट’ गरेर प्रयोगकर्ताको पहुँच पूर्ण रूपमा बन्द गरिदिन्छ । डाटाहरू पुनः सुचारु गर्नका लागि आक्रमणकारीले प्रयोगकर्तासँग मोटो रकम (फिरौती) माग गर्ने गर्दछन् । यस्तो आक्रमणले व्यक्तिगत गोपनीयता भङ्ग हुनुका साथै सरकारी वा निजी सेवाहरू ठप्प हुन सक्छन् ।
कसरी हुन्छ आक्रमण?
केन्द्रका अनुसार र्यानसमवेयर मुख्यतः शंकास्पद इमेलमा आएका पिडिएफ, वर्ड वा जिप फाइलहरू खोल्दा, नक्कली वेबसाइटका लिङ्कहरूमा क्लिक गर्दा, असुरक्षित वा अनाधिकृत स्रोतबाट पाइरेटेड र क्र्याक गरिएका सफ्टवेयर डाउनलोड गर्दा, कम्प्युटर सिस्टम र सफ्टवेयर नियमित अपडेट नगर्दा तथा एन्टिभाइरसको प्रयोग नगर्दा, असुरक्षित नेटवर्क र युएसबी उपकरणहरूको प्रयोग गर्दा यसले प्रणालीमा प्रवेश पाउँछ ।
बच्ने उपायहरू (सुरक्षा टिप्स)
साइबर सुरक्षा केन्द्रले र्यानसमवेयरबाट जोगिन
सजगता : अपरिचित स्रोतबाट आएका इमेल, लिङ्क वा अट्याचमेन्टहरू नखोली त्यसको विश्वसनीयता जाँच गर्ने
सफ्टवेयर : सधैँ आधिकारिक प्लेटफर्मबाट मात्र सफ्टवेयर र एपहरू डाउनलोड गर्ने । पाइरेटेड सफ्टवेयरको प्रयोग नगर्ने
अपडेट र ब्याकअप : सिस्टम र एन्टिभाइरसलाई नियमित अपडेट गर्ने । आफ्ना महत्त्वपूर्ण डाटाहरूको ‘अफलाइन’ र ‘क्लाउड’ दुवै माध्यममा नियमित ब्याकअप राख्ने
नेटवर्क सुरक्षा : बाह्य उपकरण प्रयोग गर्नुअघि स्क्यान गर्ने र सार्वजनिक वाइफाइ प्रयोग गर्दा सावधानी अपनाउने
आक्रमण भइहालेमा के गर्ने?
यदि र्यानसमवेयर आक्रमण भयो भने तुरुन्तै प्रभावित उपकरणलाई इन्टरनेटबाट अलग गर्न केन्द्रले सुझाएको छ । यस्तै, सबै पासवर्डहरू परिवर्तन गर्न र आक्रमणकारीले मागेको फिरौती रकम नतिर्न भनिएको छ । फिरौती तिरे पनि डाटा फिर्ता हुने कुनै सुनिश्चितता नहुने र यसले अपराधीहरूलाई थप प्रोत्साहन मिल्ने केन्द्रको ठहर छ ।
घटना भएमा तुरुन्तै नेपाल प्रहरीको साइबर ब्युरो वा राष्ट्रिय साइबर सुरक्षा केन्द्रमा उजुरी गर्न र प्रमाणका रूपमा ‘र्यानसम नोट’ वा स्क्रिन म्यासेज सुरक्षित राख्न समेत एडभाइजरीमा उल्लेख गरिएको छ ।