पशुपति क्षेत्र विकास कोष ४०औँ वर्षमा प्रवेश : पशुपति क्षेत्रलाई थप सुव्यवस्थित बनाउने प्रतिबद्धता
काठमाडौँ, वैशाख ७ । पशुपति क्षेत्रको संरक्षण, संवर्द्धन र बृहत्तर विकासका लागि स्थापित पशुपति क्षेत्र विकास कोष आजदेखि स्थापनाको ४०औँ वर्षमा प्रवेश गरेको छ । पशुपतिनाथको गरिमा र प्रतिष्ठा अनुरूप यस क्षेत्रलाई सुव्यवस्थित पार्ने उद्देश्यले वि.सं. २०४३ सालमा एक स्वायत्त संस्थाका रूपमा कोषको स्थापना भएको थियो ।
हाल ‘पशुपति क्षेत्र विकास कोष ऐन, २०४४’ अन्तर्गत सञ्चालित यस संस्थाले पशुपतिनाथमा हुने दैनिक पूजापाठका साथै विशेष पूजा र महाशिवरात्रि, बालाचतुर्दशी, तीज, साउने सोमबार जस्ता ठूला पर्वहरूको व्यवस्थापन गर्दै आएको छ ।
४०औँ वार्षिकोत्सवका अवसरमा कोषले शुक्रबार पशुपति क्षेत्रमा विशेष सरसफाइ कार्यक्रम तथा वार्षिकोत्सव समारोहको आयोजना गरेको छ । समारोहलाई सम्बोधन गर्दै कोषका कार्यवाहक सदस्य सचिव श्रीधर सापकोटा र कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीलगायतले आगामी ४१औँ वार्षिकोत्सवसम्ममा पशुपति क्षेत्रको विकास र सेवा प्रवाहमा उल्लेखनीय सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सो अवसरमा कोषले आफ्नो जिम्मेवारी उत्कृष्ट ढङ्गले वहन गर्ने कर्मचारीहरू, महाशिवरात्रि लगायतका पर्वहरूमा सक्रियतापूर्वक सहभागी हुने स्वयंसेवी संस्थाहरू र ‘गौरी’ आध्यात्मिक मासिकका सम्पादक अर्जुन लामिछानेलाई सम्मान गरेको छ ।
पशुपति क्षेत्रलाई विश्वकै पवित्र धार्मिक एवं पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न कोषले आगामी दिनमा आफ्ना कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउने लक्ष्य राखेको छ ।