मुस्ताङको ढुङ्गामा कला भर्दै ३० कलाकार : १५ दिने ‘राष्ट्रिय मूर्तिकला कार्यशाला’ सुरु

काठमाडौँ, वैशाख ७ । हिमाली जिल्ला मुस्ताङको प्राकृतिक सुन्दरतालाई कलामार्फत थप आकर्षक बनाउन ‘घरपझोङ राष्ट्रिय मूर्तिकला कार्यशाला-२०८३’ सुरु भएको छ । घरपझोङ गाउँपालिकाको आयोजना र नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको प्राविधिक सहकार्यमा शुक्रबारदेखि यो १५ दिने विशेष कार्यशाला प्रारम्भ भएको हो ।

मुस्ताङको कला पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस कार्यशालामा देशभरका ३० जना मूर्तिकारहरूको सहभागिता रहेको छ । कलाकारहरूले आगामी १५ दिनसम्म मुस्ताङका विशाल ढुङ्गाहरूलाई खोपेर स्थानीय धार्मिक, सांस्कृतिक र ऐतिहासिक पहिचान झल्कने विभिन्न मूर्तिहरूको निर्माण गर्नेछन् ।

कार्यशालाको उद्घाटन गर्दै घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले ललितकलालाई समृद्धिको आधार बनाइएको बताउनुभयो । “कृषि र पर्यटनसँगै अब हामी ललितकलालाई पनि जोड्दै छौँ,” अध्यक्ष लालचनले भन्नुभयो, “मुस्ताङ हिन्दु र बौद्ध धर्मावलम्बीको पवित्र सङ्गमस्थल हो । यहाँ सिर्जना गरिने कलाले हाम्रो गौरवशाली इतिहास र सांस्कृतिक गरिमालाई जीवन्त राख्न मद्दत पुग्नेछ ।”

नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोले यस कार्यशालाले मुस्ताङको प्राकृतिक स्वरूपलाई कलात्मक स्वरूप दिने बताउनुभयो । उहाँका अनुसार कार्यशालाबाट सिर्जना हुने मूर्तिहरूमा घरपझोङको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक परिवेशलाई प्राथमिकता दिइनेछ, जसले भविष्यमा पर्यटकका लागि थप आकर्षणको केन्द्र बनाउने विश्वास गरिएको छ ।

मुस्ताङको घरपझोङ क्षेत्रमा रहेका बडेमानका ढुङ्गाहरूमा कुँदिने यी आकृतिहरूले कला र पर्यटनको सम्बन्धलाई अझ प्रगाढ बनाउने अपेक्षा गरिएको छ । १५ दिनपछि यी ढुङ्गाहरूले नयाँ र आकर्षक मूर्तिको स्वरूप ग्रहण गर्नेछन् ।