पहिलो टि२० मा युएइसँग नेपाल पराजित
काठमाडौँ, ७ वैशाख । संयुक्त अरब इमिरेट्स युएइले सोमबार नेपाललाई पहिलो टि२० अन्तर्राष्ट्रिय खेलमा छ विकेटले हराएको छ । यस नतिजासँगै दुई खेलको शृङ्खलामा अग्रता बनायो । दोस्रो खेल मङगलबार हुनेछ ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङगशालामा फ्लड लाइट्समा खेलिएको पहिलो अन्तर्राष्ट्रिय खेल टस जितेपछि पहिले ब्याटिङ गरेको नेपालको पालि १८.५ ओभरमा पुग्दा पानी परेपछि रोकिएको थियो । त्यसपछि खेल सुचारु हुँदा युएइले डकवर्थ लुइसको नियमअनुसार १० ओभरमा ७८ रन बनाउनुपर्ने सशोधित लक्ष्य पायो । युएइले ८.५ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य हासिल गर्यो ।
नेपालका लागि कप्तान दिपेन्द्रसिंह ३५ बलमा दुई चौकासहित सर्वाधिक अविजित ३२ रन बनाए । चार वर्षपछि राष्ट्रिय टिमबाट खेल्दै गरेका अर्जुन साउद ११ बलमा तीन चौकासहित १३ रन बनाएर आउट भए । कुशल भुर्तेल नौ बलमा एक चौका र एक छक्कासहित १६ रन बनाएपछि रन आउट भए ।
कुशल मल्ल १७ र बसिर अहमद १४ रनमा आउट भए । नन्दन यादवले अन्ततिर सात बलमा दुई छककासहित १३ रनको आकर्षक पालि खेले । सन्दीप जोरा (६), गुलसन झा (१) र शेर मल्ल (०) मा आउट भए । नेपालको पालमा स्पीनर जुहेब जुबेरले सर्वाधिक तीन विकेट लिए । यसैगरी जुनेद सिद्दिकी दुई तथा हैदर अली र मोहम्मद अरफानले एक–एक विकेट हासिल गरे ।
युएइको पालिमाकप्तान मोहम्मद वासिमले १५ बलमा तीन चौका र तीन छक्कासहित ३३ रन बनाए । उनले टि२० अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पण गरिरहेका तेज बलर हेमन्त धामीको पहिलो ओभरमै दुई चौका र दुई छक्कासहित २० रन बनाएका थिए । लेग स्पीनर लामिछानेले तीन विकेट लिएर खेल रोचक बनाए तर अलिसन सराफुले १५ बलमा १८ र अक्सदीप नाथले ८ बलमा १७ रन बनाएर युएइलाई जित दिलाए । नेपालका लागि कुशल मल्ले पनि एक विकेट लिए ।