पश्चिम बङ्गाल चुनावलाई लक्षित गरी पूर्वी सीमानाका ७२ घण्टाका लागि शिल
झापा, ८ वैशाख । भारतको पश्चिम बङ्गाल प्रान्तमा हुने विधानसभा निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै पूर्वी सीमानाका ७२ घण्टाका लागि बन्द गरिएको छ । भारतको दार्जिलिङ जिल्ला प्रशासनको आग्रहमा सोमबार साँझदेखि काँकरभिट्टासँग सीमा जोडिएको पानीटङ्की नाकाबाट मानिस तथा सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार सोमबार साँझ ६:०० बजेदेखि सुरु भएको यो प्रतिबन्ध वैशाख १० गते मतदान सम्पन्न नभएसम्म कायम रहनेछ । निर्वाचनका समयमा सीमावर्ती क्षेत्रमा हुनसक्ने अवाञ्छित गतिविधि रोक्न दुवै देशको आपसी सहमतिमा ‘बोर्डर शिल’ गरिएको हो ।
नाका पूर्ण रूपमा बन्द गरिए पनि मानवीय संवेदनशीलतालाई ध्यानमा राख्दै केही विशेष छुट दिइएको छ । उपचारका लागि जानुपर्ने बिरामी र अति जरुरी काम परी आवागमन गर्नुपर्ने व्यक्तिहरूलाई परिचयपत्रका आधारमा आवतजावत गर्न दिइने प्रहरीले जनाएको छ ।
यसैगरी, नेपाल र बङ्गलादेशका पर्यटकहरूको हकमा आफ्नो मुलुक जानका लागि भारतीय प्रशासनले परिचय खुल्ने वैध कागजातका आधारमा सहजीकरण गर्ने जानकारी प्राप्त भएको प्रवक्ता खड्काले बताउनुभयो ।
निर्वाचन अवधिभर सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई थप कडा बनाइएको छ र दुवै देशका सुरक्षाकर्मीले संयुक्त गस्ती समेत सुरु गरेका छन् ।