सुनको मूल्य फेरि ३ लाख नाघ्यो : एकैदिन १६ सयले बढ्यो, चाँदी भने सस्तियो

काठमाडौं, ८ बैशाख । नेपाली बजारमा मङ्गलबार सुनको मूल्यमा फेरि वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिनको तुलनामा सुन प्रतितोला १ हजार ६०० रुपैयाँले बढेर पुनः ३ लाख रुपैयाँ नाघेको छ । तर, चाँदीको मूल्य भने घटेको छ ।

महासङ्घले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ३०० रुपैयाँ तोकेको छ । सोमबार सुन प्रतितोला २ लाख ९९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । गत साताको मङ्गलबार सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ८०० रुपैयाँ रहेको थियो ।

सुनको मूल्य बढे पनि आज चाँदीको मूल्य भने सस्तिएको छ । चाँदी तोलामा ३० रुपैयाँले घटेर प्रतितोला ५ हजार १६० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सोमबार चाँदी प्रतितोला ५ हजार १९० रुपैयाँमा खरिदबिक्री भएको थियो भने गत साताको मङ्गलबार ५ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो ।