लगातार घट्याे नेप्से : १७ अङ्कले घट्दा कारोबार रकम पौने ६ अर्ब

काठमाडौं, ८ बैशाख । साताको दोस्रो कारोबार दिन (मङ्गलबार) पनि सेयर बजार मापक नेप्से परिसूचक ओरालो लागेको छ । अघिल्लो दिन (सोमबार) घटेर बन्द भएको नेप्सेले आज पनि सोही गिरावटको लयलाई निरन्तरता दिएको हो ।

मङ्गलबार नेप्से परिसूचक १७.९१ अङ्कले घटेर २८०७.३१ विन्दुमा झरेको छ । समग्र बजार घट्दा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.०७ अङ्कले र फ्लोट इन्डेक्स १.११ अङ्कले ओरालो लागेका छन् ।

परिसूचक घटे पनि यस दिन बजारमा कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । सोमबार ५ अर्ब ४३ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा मङ्गलबार ५ अर्ब ७७ करोड ४३ लाख १७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन ३४७ कम्पनीका १ करोड ३० लाख १९ हजार कित्ता सेयर ९५ हजार ८०० पटक किनबेच भएका छन् ।

बजार घटे पनि मङ्गलबार ३ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट (१० प्रतिशतको वृद्धि) लागेको छ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, पाल्पा सिमेन्ट इन्डस्ट्रिज र शिखर पावर डेभलपमेन्टको सेयर मूल्य करिब १० प्रतिशतले बढेको हो ।

त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य करिब १५ प्रतिशत (अघिल्लो दिनको तुलनामा समायोजन वा विशेष अवस्थाका कारण) ले बढेको छ । एसियन हाइड्रोपावरको मूल्य करिब ११ प्रतिशत र होटल फरेस्ट इनको सेयर मूल्य १० प्रतिशत नजिक पुगेर बढेको छ । अर्कोतर्फ, दोल्ती पावर कम्पनीका लगानीकर्ताले यस दिन सर्वाधिक ८.७१ प्रतिशतले गुमाएका छन् ।

कारोबार रकमका आधारमा यस दिन सोलु हाइड्रोपावर अग्रस्थानमा रह्यो । उक्त कम्पनीको सर्वाधिक ३७ करोड ७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो । त्यसैगरी, रिलायन्स स्पिनिङ मिल्सको ३० करोड र नेसनल हाइड्रोपावरको करिब साढे २३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यस दिन नेप्सेमा सूचीकृत १३ वटै उपसमूहमध्ये ‘होटल तथा पर्यटन’ उपसमूहको परिसूचक मात्र १.१६ प्रतिशतले बढेको छ । बाँकी १२ वटै उपसमूह राताम्मे भएका छन् । जसमध्ये ‘अन्य’ उपसमूहको परिसूचक सर्वाधिक १.२७ प्रतिशतले घटेको छ भने जलविद्युत् र वित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले ओरालो लागेका छन् ।