नेपाल ‘ए’ विरुद्ध ओमानले टस जितेर ब्याटिङ गर्दै
काठमाडौं, ९ बैशाख । नेपाल ‘ए’ र ओमानको राष्ट्रिय क्रिकेट टोलीबीचको दुई खेलको एकदिवसीय शृङ्खलाअन्तर्गत आजको पहिलो खेल सुरु भएको छ ।
काठमाडौंस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा भर्खरै सम्पन्न टसमा ओमानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । यससँगै विनोद भण्डारीको कप्तानीमा रहेको नेपाल ‘ए’ टोलीले सुरुवाती बलिङको निम्तो पाएको छ ।
आगामी वैशाख १२ गतेदेखि सुरु हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको तयारीका लागि ओमानले नेपालको ‘ए’ टोलीसँग दुईवटा अभ्यास खेल खेल्न लागेको हो ।
विश्वकप लिग–२ को उक्त त्रिकोणात्मक सिरिजमा नेपालसँगै संयुक्त अरब इमिरेट्स (यूएई) र ओमान भिड्दैछन् । यस अभ्यास खेललाई नेपालको ‘बेन्च स्ट्रेन्थ’ परीक्षण गर्ने र ओमानका लागि नेपाली मैदानको अवस्था बुझ्ने महत्त्वपूर्ण अवसरका रूपमा लिइएको छ ।