सिरहामा प्रहरीको गाडीको ठक्करबाट दुई वर्षीय बालक गम्भीर घाइते
सिरहा, ९ वैशाख । सिरहाको मिर्चैया नगरपालिका–६, मटियर्वामा प्रहरीको गस्ती गाडीले ठक्कर दिँदा एक बालक गम्भीर घाइते भएका छन्। घाइते हुनेमा दुई वर्षीय आयुष मलिक रहेका छन्।
इलाका प्रहरी कार्यालय मिर्चैयाबाट नियमित गस्तीमा खटिएको प्रहरी टोलीको गाडीले सडकमा खेलिरहेका ती बालकलाई ठक्कर दिएको थियो। स्थानीयका अनुसार, आयुष मामाघर आएका थिए र आफ्नो घर फर्किने तयारीमा रहेका बेला उक्त दुर्घटना भएको हो।
दुर्घटनालगत्तै घाइते बालकलाई उपचारका लागि मिर्चैयास्थित मनकामना मिड इस्टर्न अस्पताल लगिएको थियो। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डीएसपी रमेशबहादुर पालका अनुसार, त्यहाँ प्रारम्भिक उपचारपछि परिवारको सहमतिमा उनलाई थप उपचारका लागि धरान पठाइएको छ।
घटनाको प्रकृति र बालकको स्वास्थ्य अवस्थाबारे प्रहरी र पीडित परिवारको भनाइ भने बाझिएको छ। प्रहरीले गस्तीका क्रममा गाडीले बालकलाई सामान्य मात्र ‘छोएको’ र अवस्था सामान्य रहेको दाबी गरेको छ।
यद्यपि, बालकका हजुरबुवा जगदीश मलिकले प्रहरीको भनाइ खण्डन गर्दै गाडीले ठक्कर नै दिएको र नातिको अवस्था चिन्ताजनक रहेको बताएका छन्। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।