खप्तड छेडेदह-६ का वडाध्यक्ष हर्कबहादुर विष्टको निधन : गाउँपालिकामा आज शोक बिदा

काठमाडौँ, वैशाख १० ।  बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष हर्कबहादुर विष्टको ५० वर्षको उमेरमा निधन भएको छ। टाउकोको क्यान्सरबाट पीडित विष्टको आइतबार राति उपचारका क्रममा निधन भएको हो । गाउँपालिका उपाध्यक्ष विसुदेवी नाथका अनुसार विष्ट लामो समयदेखि स्वास्थ्य समस्यासँग जुधिरहनुभएको थियो। उहाँ वि.सं. २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो ।

गाउँपालिका अध्यक्ष दिलबहादुर रावतले एक शोक वक्तव्य जारी गर्दै विष्टको निधनले गाउँपालिकालाई अपूरणीय क्षति पुगेको बताउनुभयो। उहाँले विष्टलाई एक निष्ठावान् जनप्रतिनिधि र कुशल समाजसेवीका रूपमा स्मरण गर्नुभएको छ ।

वडाध्यक्ष विष्टको सम्मान र शोकमा गाउँपालिकाले आज (सोमबार) एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। साथै, गाउँपालिका कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय समेत गरिएको अध्यक्ष रावतले जानकारी दिनुभयो ।