विश्वभर आज ‘बहुपक्षीयता र शान्तिका लागि कूटनीतिक दिवस’ मनाइँदै

काठमाडौँ, ११ वैशाख । संयुक्त राष्ट्रसङ्घको आह्वानमा आज विश्वभर विविध कार्यक्रमका साथ ‘बहुपक्षीयता र शान्तिका लागि अन्तर्राष्ट्रिय कूटनीतिक दिवस’ मनाइँदै छ। राष्ट्रसङ्घले सन् २०१९ देखि यो दिवस मनाउन सुरु गरेको हो।

बहुपक्षीयताले कम्तीमा तीन वा सोभन्दा बढी राष्ट्रबीचको सहकार्यलाई जनाउँछ। यद्यपि, यो केवल सङ्ख्यात्मक सहभागिता मात्र नभई साझा मूल्य, मान्यता र नियममा आधारित सामूहिक राजनीतिक प्रतिबद्धता भएको विज्ञहरू बताउँछन्। राष्ट्रसङ्घका अनुसार परामर्श, समावेशिता र ऐक्यबद्धता यसका आधारभूत सिद्धान्त हुन्, जसले समान अधिकार र दायित्वका आधारमा दिगो सहकार्य सुनिश्चित गर्छ।

परस्पर निर्भर वर्तमान विश्वमा बहुपक्षीयताको महत्त्व अझ बढेको छ। हाल १९३ सदस्य राष्ट्र र एक हजारभन्दा बढी गैरसरकारी संस्था तथा अन्तर्राष्ट्रिय सङ्गठन पर्यवेक्षक रहेको संयुक्त राष्ट्रसङ्घ बहुपक्षीयताको प्रमुख मञ्च हो।

सन् १९४५ मा स्थापित यस विश्व संस्थाको मुख्य उद्देश्य अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्नु हो। राष्ट्रसङ्घको बडापत्रले विवादलाई कूटनीतिक र शान्तिपूर्ण माध्यमबाट समाधान गर्ने तथा भावी पुस्तालाई युद्धको त्रासदीबाट जोगाउने प्रतिबद्धता व्यक्त गरेको छ।

यसै सन्दर्भमा, सन् २०२४ को सेप्टेम्बरमा आयोजित ‘समिट अफ द फ्युचर’ (भविष्यको शिखर सम्मेलन) मा विश्व नेताहरूले ‘प्याक्ट फर द फ्युचर’ पारित गर्दै शान्ति, दिगो विकास र मानवअधिकार संरक्षणमा पुनः सामूहिक प्रतिबद्धता जनाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *