लगातार घटेको नेप्से अन्तिम समयमा सम्हालियो, सवा ५ अर्बको कारोबार

काठमाडौँ, ११ बैशाख । साताको पहिलो कारोबार दिनदेखि निरन्तर ओरालो लागिरहेको सेयर बजार मापक नेप्से परिसूचक अन्तिम दिन (शुक्रबार) भने सामान्य अङ्कले बढेर बन्द भएको छ। दिनभर नकारात्मक रहेको बजार कारोबार समयको अन्तिमतिर सम्हालिँदै हरियो भएर बन्द भएको हो।

शुक्रबार नेप्से परिसूचक १.५४ अङ्कले बढेर २७८८.७० बिन्दुमा पुगेको छ। आज फ्लोट इन्डेक्स ०.०६ अङ्कले बढेको छ भने सेन्सेटिभ इन्डेक्स ०.२० र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०३ अङ्कले घटेका छन्।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा सामान्य बढेको छ। बिहीबार ५ अर्ब ९ करोड ५९ लाख रुपैयाँको सेयर किनबेच भएको बजारमा शुक्रबार सवा ५ अर्बभन्दा बढीको कारोबार भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आज ३५१ कम्पनीका १ करोड २१ लाख ७४ हजार कित्ता सेयर ५ अर्ब २७ करोड ३ लाख ९९ हजार रुपैयाँमा खरिदबिक्री भएका छन्।

शुक्रबार तीनवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट (१० प्रतिशतको वृद्धि) लागेको छ। पाल्पा सिमेन्ट इन्डस्ट्रिज, शिखर पावर डेभलपमेन्ट र माई खोला हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो। त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि साढे १२ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। समग्र बजारमा आज घटेका कम्पनीहरूको मूल्य गिरावट दर भने ४ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा शुक्रबार रिडी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको २७ करोड ३८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो। त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सको करिब २५ करोड र नेसनल हाइड्रोपावरको २४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

कारोबारमा आएका १३ उपसमूहमध्ये आज ६ वटाको परिसूचक बढेको छ भने ७ वटाको घटेको छ। बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत्, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचकमा सामान्य वृद्धि देखिएको छ। अर्कोतर्फ, ‘अन्य’ उपसमूहको परिसूचक सर्वाधिक १.०२ प्रतिशतले ओरालो लागेको छ।