विदेशी नागरिकता लिने १७ जना चिकित्सकको लाइसेन्स खारेज
काठमाडौँ, ११ वैशाख । नेपाल मेडिकल काउन्सिलले नेपाली नागरिकता त्यागेर विदेशी नागरिकता (राहदानी) लिएका १७ जना चिकित्सकको दर्ता प्रमाणपत्र (लाइसेन्स) एकैपटक खारेज गरेको छ।
काउन्सिलका रजिस्ट्रार डा. सतिशकुमार देवका अनुसार, नेपाल मेडिकल काउन्सिल ऐन–२०२०, नियमावली–२०२४ र नेपाल नागरिकता ऐन–२०६३ को प्रावधानअनुसार उनीहरूको नाम काउन्सिलको दर्ता किताबबाट हटाइएको हो। “नेपाली नागरिकता परित्याग गरी विदेशी राहदानी लिएको पुष्टि भएपछि ती १७ जना चिकित्सकको दर्ता खारेज गर्ने निर्णय गरिएको हो,” उनले भने।
लाइसेन्स खारेजीमा पर्ने चिकित्सकहरूमा डा. शर्मिला गुरुङ, डा. रोशन भुसाल, डा. मोती गुरुङ, डा. देवराज रेग्मी, डा. मेरिना गुरुङ, डा. नीरञ्जनदेव पाण्डे, डा. रोजन केसी, डा. ममता गुरुङ, डा. राजीव हमाल र डा. सलुजा सिंह थारु रहेका छन्।
त्यसैगरी, डा. सुजना केसी, डा. जोस्ना शाही, डा. मनिषा हमाल, डा. सुप्रिया शाक्य, डा. इच्छा न्यौपाने, डा. दीपेन ढकाल र डा. तुसार सरवजनाको पनि लाइसेन्स खारेज भएको छ।
काउन्सिलका अनुसार, लाइसेन्स खारेज गरिएका यी चिकित्सकहरूले अमेरिका, बेलायत, अस्ट्रेलिया, क्यानडा, पोर्चुगल, भारत, हङकङ लगायतका देशको नागरिकता लिएको पाइएको छ।