एकदिवसीय अभ्यास खेल: ओमानविरुद्ध नेपाल ‘ए’ को ११५ रनको सानदार जित : शृङ्खला बराबरीमा
काठमाडौँ, वैशाख ११ । माथिल्लो मूलपानी क्रिकेट मैदानमा आज सम्पन्न दोस्रो एकदिवसीय अभ्यास खेलमा नेपाल ‘ए’ ले भ्रमणकारी टोली ओमानलाई ११५ रनको फराकिलो अन्तरले पराजित गरेको छ । यस जितसँगै दुई खेलको शृङ्खला १-१ को बराबरीमा टुङ्गिएको छ । यसअघि बिहीबार भएको पहिलो खेलमा ओमान ७० रनले विजयी भएको थियो ।
नेपाल ‘ए’ ले प्रस्तुत गरेको २८५ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको ओमान ३६ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १६९ रनमा समेटियो । ओमानका लागि मुजिबुर अलीले सर्वाधिक ४३ रनको योगदान दिए भने जितेन रामानन्दीले २४ र विनायक शुक्लाले २१ रन जोडे ।
ओमानलाई सस्तैमा समेट्ने क्रममा नेपाल ‘ए’ का युवा बलर युवराज खत्रीले ३ विकेट लिए । त्यस्तै हेमन्त धामी, आकाश चन्द र शेर मल्लले समान २–२ विकेट झारे भने सन्तोष यादवले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ ले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २८४ रनको बलियो योगफल तयार पारेको थियो । नेपालको ब्याटिङमा तीन ब्याटरले अर्धशतक प्रहार गरे । इशान पाण्डेले सर्वाधिक ६९ रन बनाए भने देव खनालले ६४ र कुशल मल्लले ५७ रनको योगदान दिए । अन्य ब्याटरमा सन्दीप जोराले ४२, सन्तोष यादवले १५ र अर्जुन कुमालले १३ रन जोडे ।
आइसिसी विश्वकप क्रिकेट लिग–२ को तयारीका लागि ओमान नेपाल भ्रमणमा आएको हो । लिग-२ को मुख्य प्रतियोगिता आगामी शनिबारदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा शनिबार नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) भिड्नेछन् । उक्त खेल बिहान ९ः३० बजे सुरु हुने तालिका रहेको छ ।