भन्सार छलेर भित्र्याइएका २२ थान इलेक्ट्रिक स्कुटर सशस्त्र प्रहरीको नियन्त्रणमा

पर्सा, ११ वैशाख । सशस्त्र प्रहरी बल नेपालले भारतबाट भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका २२ थान इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको छ ।

पर्साका विभिन्न सीमा नाकाहरूबाट लुकाइछिपाइ ल्याइएका ती स्कुटरहरू सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साको टोलीले बरामद गरेको हो । गणका सूचना अधिकारी एवं सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहन निरौलाका अनुसार बिहीबार पर्साका विभिन्न स्थानमा गरिएको विशेष अपरेसनका क्रममा ती स्कुटरहरू नियन्त्रणमा लिइएको हो । बरामद गरिएका स्कुटरहरूको बजार मूल्य करिब १७ लाख ३० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

कहाँबाट कति बरामद ?
सशस्त्र प्रहरीले वीरगन्ज महानगरपालिका–१६ स्थित मुख्य भन्सार नाका क्षेत्रबाट १४ थान, सिर्सिया नाकाबाट ७ थान र विन्दवासिनी गाउँपालिका–५ प्रसौनीभाठाबाट १ थान गरी कूल २२ थान इलेक्ट्रिक स्कुटर बरामद गरेको हो ।
डीएसपी निरौलाका अनुसार भन्सार प्रक्रिया पूरा नगरी ल्याइएका ती सवारी साधनहरूलाई आवश्यक कानुनी कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ । पछिल्लो समय सीमावर्ती क्षेत्रबाट विद्युतीय सवारी साधनको अवैध ओसारपसार हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले सीमा नाकाहरूमा निगरानी र सक्रियता तीव्र पारेको छ ।