पाँचथरको प्रमुख पर्यटकीय क्षेत्र फालोटमा पूर्वाधारको अभाव: सडक, विद्युत् र इन्टरनेट मुख्य समस्या
काठमाडौँ, बैशाख १३ । पाँचथर जिल्लाको उच्च पहाडी पर्यटकीय क्षेत्र फालोटमा पूर्वाधारको अभावका कारण पर्यटन प्रवर्द्धनमा चुनौती थपिएको छ । वार्षिक पाँच हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक पुग्ने यस क्षेत्रमा सडकको दुरावस्था, विद्युत् सेवाको अनियमितता र इन्टरनेट पहुँचको अभाव मुख्य समस्याका रूपमा देखिएका छन् ।
समुद्र सतहदेखि ३ हजार ४०० मिटरको उचाइमा अवस्थित फालोटका चारराते र तीनसिमाना लगायतका क्षेत्रमा पुग्ने सडक सञ्जाल अझै व्यवस्थित हुन सकेको छैन । विशेष गरी वर्षायाममा सवारीसाधन सञ्चालन गर्न कठिन हुँदा पर्यटक र स्थानीय गोठ सञ्चालकहरूले सास्ती भोग्दै आएका छन् ।
फालोटका करिब ३१ गोठमध्ये एक दर्जन गोठमा ‘गोठबास’ (गोठस्टे) सञ्चालन गरी पर्यटकलाई सेवा दिइँदै आएको छ । तर, पूर्वाधार अभावका कारण अपेक्षित सेवा प्रदान गर्न नसकिएको फालोट याक गोठस्टेका सञ्चालक चन्द्रलाल नेपालले बताउनुभयो । उहाँका अनुसार उच्च पहाडी भेग भएकाले सामग्री ढुवानीमा समस्या हुनुका साथै विद्युत् र इन्टरनेट नहुँदा सञ्चार र दैनिक कार्यमा बाधा पुगेको छ ।
नेपाल–भारत सीमावर्ती क्षेत्र भएकाले सीमा क्षेत्रको यातायातमा पनि केही जटिलता देखिएको छ । कञ्चनजङ्घा याक चौँरीपालक समूहका अध्यक्ष रामचन्द्र गुरुङका अनुसार भारततर्फको सडक अवस्था राम्रो भए पनि नेपाली सवारीसाधन सञ्चालनमा भारतीय पक्षबाट हुने अवरोधका कारण सामग्री ढुवानी र निकासी कठिन हुने गरेको छ ।
विसं २०७४ देखि सुरु गरिएको ‘चौँरी महोत्सव’का कारण यहाँ पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । हाल नेपालका विभिन्न भागका साथै भारत, भुटान र बङ्गलादेशबाट समेत पर्यटकहरू यहाँका हिमशृङ्खला, चौँरीका बथान र प्राकृतिक सौन्दर्य अवलोकनका लागि आउने गरेका छन् ।
पूर्वाधार विकासका सम्बन्धमा फालेलुङ गाउँपालिकाका उपाध्यक्ष महेन्द्रहाङ जबेगूले सडक स्तरोन्नति, पर्यटन सूचना केन्द्र स्थापना र व्यवस्थित शौचालय निर्माणमा प्रदेश र सङ्घीय सरकारको सहयोग आवश्यक रहेको औंल्याउनुभयो । सीमावर्ती यस क्षेत्रमा सडकलाई बाह्रैमास सञ्चालनयोग्य बनाउन सके यसले समग्र जिल्लाकै आर्थिक र पर्यटकीय विकासमा टेवा पुग्ने स्थानीयको विश्वास छ ।