अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवसः चालीस वर्षपछि पनि असर कायम
काठमाडौँ, १३ वैशाख । आज अप्रिल २६ अर्थात् ‘अन्तर्राष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवस’ । सन् १९८६ मा तत्कालीन सोभियत सङ्घ (हालको युक्रेन) को चेर्नोबिल आणविक विद्युत् केन्द्रमा भएको विनाशकारी दुर्घटनाको सम्झनामा विश्वभर यो दिवस मनाइँदै छ ।
चेर्नोबिल आणविक दुर्घटना भएको आज ४० वर्ष पूरा भएको छ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१६ डिसेम्बर ८ मा एक प्रस्ताव पारित गर्दै हरेक वर्षको अप्रिल २६ लाई चेर्नोबिल विपद् स्मरण दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । सन् २०१७ देखि यो दिवस औपचारिक रूपमा नियमित मनाउन थालिएको हो ।
सन् १९८६ अप्रिल २६ का दिन चेर्नोबिल आणविक केन्द्रको चौथो रियाक्टरमा परीक्षणका क्रममा भएको विस्फोटले मानव इतिहासकै सबैभन्दा खराब आणविक दुर्घटना निम्त्याएको थियो । उक्त विस्फोटपछि निस्किएको रेडियोधर्मी बादल सोभियत सङ्घका विशाल भू–भागमा फैलिएको थियो । यसको सबैभन्दा ठूलो प्रभाव हालका युक्रेन, बेलारुस र रुसी महासङ्घका क्षेत्रहरूमा परेको थियो ।
संयुक्त राष्ट्रसङ्घका अनुसार उक्त दुर्घटनाका कारण ती तीन देशका करिब ८४ लाख मानिस प्रत्यक्ष रूपमा घातक विकिरणको प्रभावमा परेका थिए । दुर्घटनापछि ठूलो क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई विस्थापित गरिएको थियो र कैयौँ सहरहरू अझै पनि मानिस बस्न अयोग्य (Ghost Towns) का रूपमा रहेका छन् ।
विपद् भएको चार दशक बितिसक्दा पनि यसको दीर्घकालीन र गम्भीर असर अझै कायमै रहेको राष्ट्रसङ्घले जनाएको छ । प्रभावित समुदायमा क्यान्सर लगायतका स्वास्थ्य समस्याहरू अझै देखिने गरेका छन् र उनीहरूलाई निरन्तर सहयोगको आवश्यकता रहेको महसुस गरिएको छ ।
चेर्नोबिल दुर्घटनापछि संयुक्त राष्ट्रसङ्घ, बेलारुस, रुसी महासंघ र युक्रेन सरकारहरूले प्रभावित क्षेत्रको पुनःस्थापना र विकासका लागि विभिन्न प्रयासहरू गर्दै आएका छन् । हाल ती क्षेत्रहरूलाई सुरक्षित बनाउने, विकिरणको जोखिम घटाउने र प्रभावितहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराउने काम भइरहेका छन् । साथै, विकिरणले स्वास्थ्यमा पारेको असरबारे निरन्तर वैज्ञानिक अध्ययनहरू पनि भइरहेका छन् ।