अमेरिकी राष्ट्रपति ट्रम्प सहभागी रात्रीभोजमा गोली प्रहार: ट्रम्प र भान्स सुरक्षित, आक्रमणकारी पक्राउ
एजेन्सी, १३ वैशाख । अमेरिकामा शनिबार राति आयोजना गरिएको एक विशेष रात्रीभोजमा गोली चलेपछि खैलाबैला मच्चिएको छ । सो कार्यक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, उपराष्ट्रपति जेडी भान्स र मन्त्रिपरिषद्का सदस्यहरू सहभागी थिए ।
कार्यक्रम चलिरहेका बेला अचानक शंकास्पद गोली चलेको आवाज सुनिएपछि ह्वाइट हाउसका सुरक्षाकर्मीहरूले राष्ट्रपति ट्रम्पलाई तुरुन्तै घेरा हालेर सुरक्षित स्थानमा पुर्याएका थिए । सुरक्षा स्रोतका अनुसार राष्ट्रपति ट्रम्प, उपराष्ट्रपति भान्स र अन्य सबै मन्त्रिपरिषद् सदस्यहरू पूर्ण रूपमा सुरक्षित रहेका छन् ।
घटनापछि प्रतिक्रिया दिँदै राष्ट्रपति ट्रम्पले सुरक्षाकर्मीहरूको उच्च प्रशंसा गरेका छन् । उनले सुरक्षा निकायले अत्यन्तै द्रुत र साहसका साथ काम गरेको भन्दै उनीहरूको तत्परताको कदर गरे । ट्रम्पका अनुसार आक्रमणकारीलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिइसकेका छन् ।
आक्रमणकारी पक्राउ परेपछि ट्रम्पले कार्यक्रम जारी राख्न सुझाव दिएका थिए । यद्यपि, कानुन कार्यान्वयन गर्ने निकायहरूको अनुरोध र सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै उनी ह्वाइट हाउस फर्किएका छन् ।
साथै, सुरक्षा स्थितिलाई मध्यनजर गर्दै यो रात्रीभोजको तालिका आगामी ३० दिनभित्र पुनः तय गरिने समेत उनले जानकारी दिएका छन् ।