हुम्लाको खार्पुनाथ र सर्केगाडमा फोरजी इन्टरनेट सेवा पुनः सुचारु
काठमाडौँ, बैशाख १३ । हुम्लाको सर्केगाड गाउँपालिकास्थित खातिलेखमा रहेको नेपाल टेलिकमको फोरजी रिपिटर टावर मर्मत भएसँगै दुई सातादेखि अवरुद्ध इन्टरनेट सेवा पुनः सुचारु भएको छ । सर्केगाड-६ छ्यागीको भुब्रेलेखअन्तर्गत पर्ने उक्त टावरमा वैशाख १ गतेदेखि प्राविधिक समस्या उत्पन्न हुँदा स्थानीय बासिन्दा सञ्चार सेवाबाट वञ्चित भएका थिए ।
नेपाल टेलिकम सिमकोटको पहलमा खटिएको प्राविधिक टोलीले शनिबार टावरको सफल मर्मत गरेको हो । प्राविधिक उब्जन शाहीका अनुसार टावरको ब्याट्री ब्याकअपमा समस्या देखिएका कारण सेवा अवरुद्ध भएको थियो । प्राविधिक टोलीले उक्त समस्या समाधान गरेसँगै शनिबारदेखि नै फोरजी सेवा पुनः सञ्चालनमा आएको हो ।
टावरले काम गर्न थालेपछि खार्पुनाथ गाउँपालिकाका वडा नं १, २ र ३ तथा सर्केगाड गाउँपालिकाका वडा नं १, २, ३ र ६ का नागरिकहरू प्रत्यक्ष लाभान्वित भएका छन् । लामो समयपछि इन्टरनेट सेवा सुचारु भएपछि स्थानीय स्तरमा सञ्चार सम्पर्क सहज भएको छ ।
सेवा पुनः स्थापना भएकोमा खुसी व्यक्त गर्दै खार्पुनाथ-१ का स्थानीय लालबहादुर शाही र सर्केगाड-७ का जीवन छत्यालले आगामी दिनमा यस्ता समस्या दोहोरिन नदिन र सञ्चार सेवालाई थप भरपर्दो बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको छ ।
