भारी वर्षा र पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध, विद्युत् सेवा ठप्प

रुकुमपूर्व, १३ वैशाख । शनिबार साँझ परेको भारी वर्षासँगै खसेको पहिरोका कारण रुकुमपूर्वमा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। सडकका दर्जनौँ स्थानमा लेदोसहितको पहिरो खसेपछि लोकमार्गसहित अन्य दर्जनौं सहायक मार्गहरूमा समेत यातायात सेवा ठप्प भएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी सहायक निरीक्षक (असई) वीरबहादुर थापाका अनुसार, मध्यपहाडी लोकमार्गअन्तर्गत धौलापहिरा, काँडाबगर, किमुबोट, सुन्तलाबारी, सैपातुङ, काँक्री र सीतालगायतका ठाउँमा पहिरो झरेको छ। यसैगरी, मुरुका दुई स्थान र धाउन्ने सडकखण्ड पनि पहिरोकै कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्।

अवरुद्ध सडक खुलाउन भूमे गाउँपालिकासँग समन्वय गरी स्काभेटर (डोजर) मार्फत पहिरो पन्छाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। मौसममा सुधार नआएसम्म पहिरोको जोखिम उच्च रहने भएकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न ट्राफिक प्रहरी प्रमुख थापाले सर्वसाधारणलाई आग्रह गरेका छन्।

भारी वर्षा र हावाहुरीका कारण शनिबार साँझ ६ बजेदेखि समग्र रुकुमपूर्वमा विद्युत् सेवासमेत अवरुद्ध भएको छ। त्यस्तै, वर्षासँगै परेको असिनाले गहुँलगायतका हिउँदे बालीमा ठूलो क्षति पुर्‍याएको स्थानीयले बताएका छन्। बिजुली र सडक दुवै अवरुद्ध हुँदा यहाँको जनजीवन कष्टकर बनेको छ।