अविरल वर्षासँगै गएको पहिरोले मध्यपहाडी लोकमार्गको लमजुङ खण्ड अवरुद्ध
लमजुङ, १६ वैशाख । अविरल वर्षापछि गएको पहिरोका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत लमजुङ खण्ड अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी (प्रहरी निरीक्षक) ज्ञानेन्द्रबहादुर क्षेत्रीका अनुसार, मध्यनेपाल नगरपालिका–१० स्थित विमिरे भञ्ज्याङमा आज बिहान पहिरो खसेपछि उक्त सडकखण्ड पूर्ण रूपमा बन्द भएको हो।
“गएरातिदेखि नै निरन्तर वर्षा भइरहेको छ। विमिरे भञ्ज्याङमा पहिरो जाँदा बिहानैदेखि लोकमार्गमा सवारी आवागमन ठप्प भएको छ,” सूचना अधिकारी क्षेत्रीले भने।
सडक खुलाउन पहल भइरहे पनि निरन्तरको वर्षाका कारण अवरोध पन्छाउने कार्य प्रभावित भएको प्रहरीले जनाएको छ। सडक खुलाउन अझै केही समय लाग्ने अनुमान गरिएको छ।
यसका साथै, लोकमार्गको यस खण्डमा पर्ने विभिन्न खोलाहरूमा पानीको बहाव उच्च रहेकाले साना तथा ठूला सवारीसाधन सञ्चालनमा थप जोखिम र कठिनाइ उत्पन्न भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।