कुपोषणमुक्त पुस्ताका लागि देशभर १५ दिने ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सुरु

काठमाडौँ,  वैशाख १६ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मुलुकभरका बालबालिकाको पोषण अवस्था सुधार्ने उद्देश्यका साथ १५ दिने ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ प्रारम्भ गरेको छ । ‘समयमै पहिचान, सही उपचार-कुपोषणमुक्त पुस्ताको आधार’ भन्ने मूल नाराका साथ सुरु भएको यो अभियान वैशाख १५ देखि ३० गतेसम्म सञ्चालन हुनेछ ।

यस अभियानले ६ देखि ५९ महिनासम्मका बालबालिकामा शीघ्र तथा मध्यम कुपोषणको जोखिम पहिचान गरी उनीहरूलाई आवश्यक उपचार र सेवा सुनिश्चित गर्ने लक्ष्य राखेको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, यो अभियान देशका ७५३ वटै स्थानीय तहमा एकसाथ सञ्चालन भइरहेको छ। अभियानमार्फत प्राप्त हुने तथ्याङ्कका आधारमा कुपोषणको जोखिम रहेका क्षेत्रहरूको वर्गीकरण गरी आगामी दिनमा प्रभावकारी पोषण कार्यक्रमहरू तर्जुमा गरिने मन्त्रालयले जनाएको छ ।

लेखाजोखा कार्यका लागि देशभरका स्वास्थ्य संस्था, खोप केन्द्र, सामुदायिक क्लिनिक, वडा कार्यालय, सामुदायिक भवन र प्रारम्भिक बाल विकास केन्द्रहरूलाई केन्द्र तोकिएको छ। बालबालिकाको पोषण अवस्था मापन गर्न डिजिटल तौल मेसिन, उचाइ तथा लम्बाइ मापन बोर्ड र पाखुराको घेराइ नापेर कुपोषणको स्तर पत्ता लगाउने विशेष टेप जस्ता आधुनिक उपकरणहरूको प्रयोग गरिएको छ ।

प्रत्येक स्वास्थ्य संस्थाले आफ्नो कार्यक्षेत्र भित्रका लक्षित बालबालिकाको सङ्ख्या, आवश्यक स्वास्थ्यकर्मी र सामग्रीको व्यवस्थापनसहितको सुक्ष्म योजना तयार गरी कार्यसम्पादन गरिरहेका छन् । अभियानबारे जनचेतना फैलाउन महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र स्थानीय सञ्चारमाध्यमहरूलाई समेत परिचालन गरिएको छ ।

स्वस्थ र सबल पुस्ता निर्माणका लागि कुपोषणको समयमै पहिचान हुनु अनिवार्य रहेको उल्लेख गर्दै स्वास्थ्य मन्त्रालयले ६ देखि ५९ महिनासम्मका आफ्ना बालबालिकाको पोषण जाँच गराएर यो राष्ट्रिय अभियानलाई सफल बनाउन सबै अभिभावक र सरोकारवालाहरूमा हार्दिक अनुरोध गरेको छ ।